दीपकराज गरे छक्का पञ्जा–४ निर्माणको घोषणा
काठमाडौं, पुस ११ : चलचित्र ‘छ माया छपक्कै’ को सफलता लगत्तै चलचित्रका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले ‘छक्का पन्जा ४&rs....

काठमाडौं, पुस ११ : चलचित्र ‘छ माया छपक्कै’ को सफलता लगत्तै चलचित्रका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले ‘छक्का पन्जा ४’ बनाउने घोषणा गरेका छन्।
‘छक्का पन्जा ३’ पछि ‘छ माया छपक्कै’ निर्माण गरेका दीपकराज र उनको टिमले फेरि ‘छक्का पन्जा’कै सिरिजलाई निरन्तरता दिने भएको हो।
निर्माण टिमले वि.सं २०७७ सालको दशैंको फूलपातिमा रिलिज गर्ने गरी चलचित्र ‘छक्का पन्जा ४’ को निर्माण गरिने छ। दीपकले भने, ‘हामी आफ्नै ब्यानरमा चलचित्र ‘छक्का पन्जा ४’ बनाउने तयारीमा लागेको हौं।’ यद्यपि अन्य ब्यानरसँगको सहकार्यका लागि कुरा अगाडि भने बढिरहेको उनले बताए।
अहिले यो चलचित्रको कथा लेख्ने काम सुरु भएको छ। चलचित्रलाई दीपाश्री निरौलाले नै निर्देशन गर्नेछिन्। चलचित्रमा दीपकराजसँगै केदार घिमिरे र जितु नेपालको अभिनय रहने पक्का छ। दीपकका अनुसार नायिकाको टुंगो पनि छिट्टै लाग्नेछ।
दीपकले भने,‘यसपटक हामी ‘छक्का पन्जा ४’लाई सिरिज भन्दा पनि सिक्वेलको रुपमा अगाडि बढाउने तयारीमा छौँ। छक्का पन्जा–३ को कथा जहाँ सकिएको थियो, त्यहीँबाट ‘छक्का पन्जा ४’ को कथा सुरु हुनेछ।’
नेपाली चलचित्रको इतिहासमै सर्वाधिक ग्रस कलेक्सन गर्ने चलचित्रको रेकर्ड ‘छक्का पन्जा’का तीन सिरिजले राखेका छन्। यो चलचित्रलाई काठमाडौंमा जीजीए ग्रुप र रिच इन्टरटेन्मेन्टले वितरण गर्नेछ।












