कुनैपनि हालतमा प्रधानमन्त्रीबाट पछि नहट्न देउवालाई कांग्रेस नेताहरुको दबाब
संसदीय दलमा निर्वाचित भएपछि आफ्नो नेतृत्वमा गठबन्धनको सरकार बनाउने गरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सहमतिमा ल्याउन प्रयासरत छन्।
काठमाडौं, पुस ८ : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आइतबार सकिँदै छ । एकसाताको समय दिएर सरकार गठनको आह्वान भएको पाँच दिन पुगिसक्दा पनि कसको नेतृत्वमा सरकार बन्ने भन्ने विषय टुंगोमा पुग्न सकेका छैनन् ।
घर्कँदो समयसँगै दलहरुले एकअर्को दल र पार्टीभित्रको आन्तरिक छलफललाई तीव्रता दिएका छन् । नेपाली कांग्रेस आफ्नो नेतृत्वमा गठबन्धनको सरकार बनाउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सहमतिमा ल्याउन प्रयासरत छ।
शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर कांग्रेस नेता प्रकाशमान सिंह प्रचण्ड निवास खुमलटार पुगेका थिए । उनले पहिलो कार्यकालका लागि देउवालाई प्रधानमन्त्री स्वीकार्न प्रचण्डसँग प्रस्ताव राखेका थिए । जवाफमा प्रचण्डले आफू पहिलो प्रधानमन्त्री बन्नुपर्ने अडान राखे । नेता सिंहले प्रचण्डको सोही सन्देश बालुवाटार पु¥याए।
प्रचण्ड जुनसुकै हालतमा प्रधानमन्त्री बन्न चाहन्छन् । एमालेका सुवास नेम्वाङ, विष्णु पौडेल, योगेश भट्टराई लगायतका नेताहरुले चरणवद्ध रुपमा प्रचण्डलाई भेटेर प्रधानमन्त्रीको अफर गरिरहेको छ । प्रचण्डले गठबन्धनमा आफूले प्रधानमन्त्री नपाए एमालेसँग समेत सहकार्य गर्नसक्ने संकेत प्रधानमन्त्री देउवालाई दिइसकेका छन् ।
कांग्रेस संसदीय दलमा ठूलो मतका साथ विजयी भएका देउवालाई पार्टीका नेताहरुले भने प्रधानमन्त्री नछाड्न भनेका छन् । संसदीय दलको निर्वाचनमा पराजित भएलगत्तै महामन्त्री गगन थापाले जनताको म्यान्डेटअनुसार कांग्रेसकै सरकार बन्नुपर्ने बताएका थिए । उनले सरकारको नेतृत्व लिने पार्टीको निर्णयबाट पछि हट्ने निर्णय भए आफूहरुलाई स्वीकार्य नहुने बताएका थिए ।
सरकार गठनको विषय पेचिलो बन्दै गएपछि देउवाले पनि आन्तरिक छलफलहरुर्लाइ तीव्रता दिइरहेका छन् । आन्तरिक छलफलमा नेताहरुले कुनैपनि हालतमा सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने सुझाव दिँदै आएका छन् ।
शुक्रबार बिहान पनि देउवासँगको भेटमा नेताहरुले मुलुकको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने सुझाव दिए । उपसभापति पूर्णबहादुर खड्का, नेता प्रकाशमान सिंह, बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, डीला संग्रौला लगायतका नेताहरुले देउवासँग भेटवार्ता गरी प्रधानमन्त्री नछाड्न दबाब दिए । नेतृ संग्रौलाले आफूहरु कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने पक्षमा रहेको र सभापति सँगको भेटमा पनि सोही कुरा राखेको जानकारी दिइन् ।
‘संसदको ठूलो दल हो । आफ्नो दलको संसदीय दलका नेता प्रधानमन्त्री बन्नुपर्छ भन्ने धारणा त भई नै हाल्छ । पार्टी सभापति पनि भएकाले भेटघाट र छलफल निरन्तर भइ नै रहेको छ । आज बिहान पनि भ्ट्यौं । उहाँलाई तपाई नै प्रधानमन्त्री बन्नुपर्छ भन्ने सुझाव दिएका छौं । छलफल गरेर अगाडि बढ्ने जवाफ पायौं,’ नेतृ सग्रौलाले काठमाडौं प्रेससँग भनिन् ।











