‘तिम्रो मेरो साथ’ पुस २९ गते रिलिज हुँदै
फिल्ममा सन्दीप क्षेत्री, सरोज खनाल, खड्कबहादुर पुन, दिपिशा केसीलगायतका कलाकारको अभिनय छ।
काठमाडौं, पुस ८ : नेपाली फिल्ममा सङ्ख्यात्मकरूपमा थोरै फिल्ममा अभिनय गरे तापनि स्थापित भएकी अभिनेत्री हुन् सम्राज्ञी राज्यलक्ष्मी शाह।
‘ड्रिम्स’मार्फत डेब्यु गर्दा नै फरक देखिएपश्चात उनकाे माग फिल्ममा बढ्दै गयो। यिनै अभिनेत्री शाह पछिल्लो समय अभिनेता पुष्प खड्कासँग देखिइरहेकी छन्। उनीहरू दुईजनाले मंगलम, मारुनीपश्चात अभिनय गरेको तेस्रो फिल्म ‘तिम्रो मेरो साथ’ पुस २९ मा रिलिज हुँदैछ।
अभिनेत्री शाहले अतिथि भूमिकामा अभिनय गरेकाे पहिलो फिल्ममा काम गर्दा उनीहरूको चिनजान नै थिएन। फिल्मको ट्रेलर सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा पुष्पले भने, 'हाम्रो भेट नै दोस्रो फिल्मका लागि भएको थियो। उनकाे कामप्रतिको लगाव तारिफयोग्य छ। हामी मिल्ने साथी बनिसकेका छौँ।' तेस्रो फिल्ममा काम गर्दा झनै एकअर्कालाई बुझ्न पाएको उनले बताए।
फिल्मनगरीसँग घुलमिल नभएकी अभिनेत्री शाहले पनि अभिनेता खड्कासँग काम गर्न पाउँदा ‘कम्फर्ट फिल’ हुने बताइन्। 'हामीले काम गर्ने शैली बुझिसकेका छौँ। त्यसैले तेस्रो सहकार्यमा झनै सजिलो भयो', अभिनेत्री शाहले भनिन्, 'मैले आफू सुहाउँदो भूमिकाभन्दा बाहिर निस्केर काम गर्ने कोसिस गरिरहेकी छु। क्यारेक्टरमा आफूलाई देखेपछि अभिनय गर्न तयार हुन्छु।'
पत्रकार सम्मेलनमा उनीहरू दुई जनालाई अभिनय गराउनुका कारण सुहाउँदो केमेष्ट्री रहेको निर्देशक रमेश एमके पौडेलले बताए। 'उहाँहरूको फिल्म दर्शकले प्रतीक्षा गरिरहनुभएकोजस्तो लाग्छ। मैले तयार गरेको कथामा समेत उहाँ दुई फिट हुनुभयो', निर्देशक पौडेलले भने, 'बाहिर जे–जस्तो हल्ला सुनिएता पनि अभिनेत्री शाहसँग काम गर्न निकै सहज र सरल भयो।'
फिल्ममा सन्दीप क्षेत्री, सरोज खनाल, खड्कबहादुर पुन, दिपिशा केसीलगायतका कलाकारको अभिनय छ। सवीर श्रेष्ठ र बाबुराम निरौलाको लेखन रहेको फिल्ममा शिव ढकालको छायाङ्कन, सुवास भुसाल/योगेश काजीको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ।












