शोभराज सुरक्षित रूपमा घर पुग्न सकून् भन्ने मेराे चाहना : निहिता विश्वास
उनले शोभराजलाई मुटुको भल्भको समस्या रहेको र सुरक्षित घर फर्काउन जरूरी रहेको बताइन्।
काठमाडौं, पुस ८ : अधिवक्ता निहिता विश्वासले अध्यागमन विभाग पुगेर चार्ल्स शोभराजलाई सुरक्षित रूपमा कसरी फ्रान्ससम्म पठाउने भन्नेमा आफू चिन्तित रहेको बताएकी छन्। शोभराज सुरक्षित घर पुग्न सकून् भन्ने मात्रै आफ्नाे चाहना रहेको उनले बताइन्।
‘सिरियल किलर’का रूपमा कुख्यात शोभराजसँग विवाह गरेको भनेर चर्चामा आएकी निहिताले अध्यागमन विभागमा पत्रकारहरुसँग त्यस्तो बताएकी हुन्। केन्द्रीय कारागारको गोलघरबाट निकालेर शोभराजलाई अध्यागमनमा पुर्याउँदा उनी त्यहाँ पुगिसकेकी थिइन्।
उनले शोभराजलाई मुटुको भल्भको समस्या रहेको र सुरक्षित घर फर्काउन जरूरी रहेको बताइन्। राम्रो सुरक्षा गराएर अध्यागमनसम्म पुर्याउँदा आफू ढुक्क रहेको र अब शोभराजको विषयमा नेपालस्थित फ्रान्सेली दूतावाससँग समन्वयका लागि सहयोग गर्ने उनको भनाइ।
उनले आफ्ना अरु मुद्दाहरू हेर्नुपर्ने भएकाले शोभराजसँगै फ्रान्स जाने विषयमा केही नसोचेको पनि बताइन्।
१९ वर्ष जेल बसेर छुटेका शोभराजलाई सर्वोच्च अदालतले बुधबार थुनामुक्त गरी उनकै देश फर्काउन आदेश दिएको थियो। सोही आदेशबमोजिम आज (शुक्रबार) उनी थुनामुक्त भएका हुन्। अहिले अध्यागमन विभागमा रहेका उनलाई दूतावाससँग समन्वय गरेर आजै फ्रान्स पठाउने तयारी भइरहेको स्रोतको भनाइ छ।











