Kathmandu Press

माओवादी अध्यक्ष प्रचण्ड र कार्यवाहक चिनियाँ राजदूत वाङबीच भेटवार्ता

प्रचण्डलाई भेट्न वाङ आज (शुक्रबार) बिहान खुमलटार पुगेका थिए।
माओवादी अध्यक्ष प्रचण्ड र कार्यवाहक चिनियाँ राजदूत वाङबीच भेटवार्ता

हेटौंडा, पुस ८ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत वाङ सिनबीच भेटवार्ता भएको छ। प्रचण्डलाई भेट्न वाङ आज (शुक्रबार) बिहान खुमलटार पुगेका थिए। 

नयाँ संसद बनेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १० भित्र नयाँ प्रधानमन्त्रीको नाम पेस गर्न समयसीमा दिएकी छन्। सत्ता गठबन्धनमा आबद्ध दुई दल कांग्रेस र माओवादीका शीर्ष नेताहरूले छलफललाई तीव्रता दिएका छन्।

विभिन्न दलसँग पनि छलफलको ढोका खुला राखेका प्रचण्डले कांग्रेससँग मिलेर आलोपालाे प्रधानमन्त्री चलाउने र पहिला आफू बन्ने अडान राख्दै आएका छन्। यस्तो बेला चिनियाँ दूतावासका उच्च अधिकारीसँग भएको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण ढंगले हेरिएको छ।

भेटमा कार्यवाहक राजदूत वाङले सम्भावित सत्ता समीकरण र सरकार निर्माणमा माओवादी केन्द्रको भूमिकाबारे चासो राखेको स्रोतको भनाइ छ। प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउने कसरत भइरहेको जवाफ दिएको बताइएको छ।

कांग्रेससँग कुरा नमिले एमालेको समर्थनमा प्रधानमन्त्री बन्ने तयारीमा प्रचण्ड रहेको भनिएका बेला त्यसप्रति चिनियाँ चासो बढेको बताइएको छ। यसअघि वाङले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनलाई भेटेका थिए।

प्रकाशित मिति: १२:०६ बजे, शुक्रबार, पुस ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्