Kathmandu Press

सुदूरपश्चिममा भुवा पर्व सुरू

बाजुरा, बझाङ, अछामलगायत जिल्लामा मनाइने भुवा पर्व प्रत्येक वर्ष पुसे औँसीको अघिल्लो दिनदेखि सुरू हुन्छ।
सुदूरपश्चिममा भुवा पर्व सुरू

बझङ, पुस ८ : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भुवा पर्व सुरू भएको छ। बाजुरा, बझाङ, अछामलगायत जिल्लामा मनाइने भुवा पर्व प्रत्येक वर्ष पुसे औँसीको अघिल्लो दिनदेखि सुरू हुन्छ।

पछिल्लो समय सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा पनि यो पर्व मनाउन थालिएको छ। द्वापरयुगमा पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डवको विजयसँगै खुसियाली मनाएको दिनलाई स्मरण गर्दै विभिन्न स्थानमा भुवो खेल्ने गरिन्छ।

खप्तडछान्ना गाउँपालिका–५ का माधवप्रसाद जोशीका अनुसार सिन्धुघाँटीको सम्भतादेखि प्राचिन नेपाली समुदायमा भुवो पर्व मनाइँदै आएको छ। सुदूरपश्चिममा जुम्ला सभ्यता छिटो फैलँदै आएका जिल्लामा भुवा पर्व मनाउने गरेको उनले बताए।

पर्वमा महाभारतका पाण्डव र कौरवको युद्धका बेला पाण्डवको संघर्ष, जङ्गलमा बास बसेको समय, विकासमा खेलेको भूमिकालाई लिएर भुवाका माणा (गीत) गाउने चलन रहेको छ।

वनबास बस्दा पाण्डवका भाइहरू पुगेको ठाउँमा छोडेको चिनारी भएको आसपासमा यो पर्व बढी मनाउने गरेको उनले बताए। उनी भन्छन्, ‘बढीजसो पाण्डव पुगेको ठाउँमा कतै ढुङ्गा बोकेको, कतै खनेको, केही आकृतिका ढुंगा गाडेकोजस्ता चिनारी छोडेको ठाउँमा यो पर्व बढी मनाउँछन्।’

पछिल्लो समय पहिचान जोगाउनका लागि पनि धेरै समुदायले भुवा पर्व मनाउने गरेका छन् । स्थानीय सरकार आफैँ पनि पर्व जोगाउनका लागि लागि परेका छन्।

भुवा पर्वमा रातभरि आगो बालेर देउडा, भारीखेल, भस्सोलगायत खेल छुट्टाछुट्टै खेल्ने चलन छ। यो पर्व तीनदेखि पाँच दिनसम्म मनाइन्छ। कुनै ठाउँमा भुवो खेल्दा गाउँमा छैटी खेल्ने चलन पनि छ। बडिमालिका नगरपालिका–१ पाटा बाजुराका यज्ञराज पण्डितका अनुसार घरको जेठो छोरा जन्मेको एक वर्ष पूरा गरेपछि उसको घरमा गएर छैटी माग्ने चलन छ।

भुवाका श्लोक पनि पाण्डवको जितसँगै आफ्नै भाषा, लय, संस्कृतिअनुसार फरक÷फरक गाउने गरिन्छ।

प्रकाशित मिति: १०:१४ बजे, शुक्रबार, पुस ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्