Kathmandu Press

छुवाछूत अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ : प्रदेश प्रमुख मिश्र

'नेपाल छुवाछुतमुक्त भएको एक दशकभन्दा बढी समय भइसक्यो तर अझै समाजमा छुवाछूत, भेदभाव कायम छ', प्रदेश प्रमुख मिश्रले भने, 'जातिपाती भेदभाव, छुवाछूत सामाजिक कलङ्क हो, यसलाई सबै मिलेर हटाउनुपर्छ।'
छुवाछूत अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ : प्रदेश प्रमुख मिश्र

जनकपुरधाम, पुस ७ :  मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि बनेका ऐन र कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका छन्।

जातीय भेदभाव तथा छुवाछूत अन्त्य, आर्थिक, सामाजिक तथा राजनीतिक सशक्तीकरणका लागि मधेस प्रदेशस्तरीय दलित सम्मेलन २०७९ को आज जनकपुरधाममा उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख मिश्रले छुवाछूत र जातीय भेदभाव अन्त्यका लागि ऐन कानुन बने पनि कार्यान्वय पक्ष कमजोर भएकाले अझै दलित समुदायमाथि थिचोमिचो र भेदभाव भइरहेकाले ऐन, कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए।
 
'नेपाल छुवाछुतमुक्त भएको एक दशकभन्दा बढी समय भइसक्यो तर अझै समाजमा छुवाछूत, भेदभाव कायम छ', प्रदेश प्रमुख मिश्रले भने, 'जातिपाती भेदभाव, छुवाछूत सामाजिक कलङ्क हो, यसलाई सबै मिलेर हटाउनुपर्छ।'

एकअर्कालाई दोषारोपण गरेर होइन, सबैले आफ्नो पुरानो सोच र विचारमा परिवर्तन गरेर भेदभावजस्तो सामाजिक कलङ्कलाई हटाउन लाग्नुपर्ने उनको भनाइ थियो।

अधिकार मागेर होइन कर्तव्यसँगै सङ्घर्ष गरेर लिनुपर्नेमा जोड दिँदै उनले दलितहरू पनि अधिकारका लागि कर्तव्यसँगै सङ्घर्ष गर्नुपर्ने उल्लेख गरे।

नवनिर्वाचित मधेस प्रदेशसभा सदस्य लखन दासले अहिलेको निर्वाचन प्रणालीबाट दलित समुदायको संसदीय राजनीतिमा पहुँच पुग्न नसक्ने भएकाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको बताए।

'अहिले राजनीतिक दलहरूले एक त दलितलाई टिकट दिँदैनन्, दिइहाले भने पनि चुनाव जित्न सक्ने अवस्था छैन', प्रदेशसभा सदस्य दासले भने, 'अहिले जोसँग पैसा छ, त्यसले मात्र चुनाव लड्न सक्छ र जित्न सक्छ।' दलित समुदायसँग न त पैसा छ न राजनीतिक पहुँच छ, त्यसैले निर्वाचन प्रणालीलाई फेर्नुपर्छ उहाँको कथन थियो। 

कार्यक्रममा दलित जनकल्याण युवा क्लबका कार्यकारी निर्देशक विनोद बिसुन्खेले मुलुकमा थुप्रै राजनीतिक परिवर्तन भए पनि दलित समुदायमाथिको उत्पीडनमा कमी आउन नसकेको भन्दै उहाँले दलित आन्दोलनलाई साझा आन्दोलन बनाउनुपर्नेमा जोड दिए। 

उनले दलित आन्दोलनलाई साझा आन्दोलन, सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट दलित समुदायका लागि ल्याएका ऐन, कानुनको गम्भीर समीक्षा गर्न प्रदेशस्तरीय दलित सम्मेलन आयोजना गरिएको बताए।

कार्यक्रममा अनोपचारिक सेवा केन्द्र इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवान र प्राध्यापक विजय मिश्रले मधेस प्रदेशमा दलित समुदायको अवस्था विषयमा छुट्टाछुटै कार्यपत्र प्रस्तुत गरे।

एक्सन एड नेपालको सहयोगमा दलित जनकल्याण युवा क्लब लहान सिरहा, दिव्य युवा क्लब पर्सा, महिला सशक्तीकरण अभियान महोत्तरी र दलित पत्रकार सङ्घ मधेस प्रदेश समितिद्वारा आयोजित सम्मेलनमा मधेस प्रदेशका आठवटै जिल्लाका दलित समुदायका अगुवाहरूको सहभागिता रहेको छ। 

सम्मेलनले दलित समुदायको पक्षमा वकालत गर्न प्रदेशस्तरीय समिति गठनसँगै घोषणापत्र जारी गर्ने आयोजक दलित जनकल्याण युवा क्लबका अध्यक्ष उमेश बिसुन्खेले जानकारी दिए।

प्रकाशित मिति: १७:०२ बजे, बिहीबार, पुस ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्