मकवानपुर सुमो दुर्घटनाः मृत्यु हुनेको संख्या ५ पुग्यो
हेटौँडा, पुस ११ : मकवानपुरमा भएको सुमो दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
रौतहटबाट काठमाडौंका लागि छुटेको न....
हेटौँडा, पुस ११ : मकवानपुरमा भएको सुमो दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
रौतहटबाट काठमाडौंका लागि छुटेको ना १ ज ३४३३ नम्बरको टाटा सुमो शुक्रबार दिउँसो इन्द्रसरोवर गाउँपालिका–३ ओखरेडाँडा नजिक दुर्घटना भएको थियो।
दुर्घटनामा परी तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।
मृत्यु हुनेहरुमा रौतहटको चन्द्रपुर नगरपालिकाका २१ वर्षीय मनिष विश्वकर्मा, २० वर्षीया सृजना विश्वकर्मा र ६५ वर्षीय केदारप्रसाद तिमल्सिना रहेका छन्। अन्य दुई मृतकको पहिचान भने अझै खुल्न सकेको छैन।
दुर्घटनामा घाइते भएका सुमो चालक हेटौँडा–१७ का अनिल विश्वकर्मा, रौतहटको माधवनारायण नगरपालिकाका जैसा साह र गरुडा नगरपालिकाका नन्दकिशोर साह तथा सर्लाहीको वाग्मती नगरपालिकाका रञ्जित रिजालको काठमाडौंमा उपचार भइरहेको छ।
घाइतेमध्ये दुई जनाको काठमाडौंको बल्खुस्थित वयोधा अस्पताल र अन्य दुईको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।






