पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक विमान अवतरण
सरकारले अंग्रेजी नयाँ वर्ष २०२३ का दिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उद्घाटनकाे तयारी गरेकाे छ।
पोखरा, पुस ७ : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक विमान अवतरण गरेको छ। विमानस्थलमा आज (बिहीबार) यती एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो।
व्यावसायिक उडानको तयारीमा रहेको नयाँ विमानस्थलमा पोखराकै पुरानो विमानस्थलबाट उडेको जहाज अवतरण गराएर ‘डेमो फ्लाइट’ गरिएको हाे।
विमानस्थलमा आन्तरिक र बाह्य उडानका लागि छुट्टाछुट्टै संरचना निर्माण गरिएका छन्। सरकारले अंग्रेजी नयाँ वर्ष २०२३ का दिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उद्घाटनकाे तयारी गरेकाे छ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २ः१५ बजे पुरानो विमानस्थलबाट उडान भइ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २ः२७ मा अवतरण भएको जानकारी दिए। 'मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा आज यतिले प्रदर्शन उडान सम्पन्न गरेको छ, उडानका क्रममा पाइटलहरुले विमानस्थल प्राविधिकरुपमा सञ्चालनका लागि तयार भएको प्रतिक्रिया दिनुभएको छ', उनले भने।
विमानका पाइटल प्रमोदराज गौतमले प्राविधिक रुपमा विमानस्थल अन्तर्राष्ट्रिय स्तरको भएको र अवतरण पनि सहज भएको बताए। विमानस्थल आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको छ। विमानस्थलमा बुध्द एयरले पनि दिउँसो ३ः६ बजे विमानस्थलमा अवतरण गरेको छ।











