Kathmandu Press

२६ सांसदले विभिन्न १४ मातृभाषामा लिए शपथ, कसले कुन भाषा राेजे?

उनीहरूले भोजपुरी, हिन्दी, उर्दू, थारु, तामाङ, नेपाल भाषा, सन्थाली, अवधी, मधेसी भाषा, कायु, संस्कृतलगायत १४ मातृभाषामा शपथ लिएका हुन्।
२६ सांसदले विभिन्न १४ मातृभाषामा लिए शपथ, कसले कुन भाषा राेजे?

काठमाडाैं, पुस ७ : प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित विशेष समारोहमा ज्येष्ठ सदस्यको हैसियतमा उनले सांसदहरुलाई शपथ गराएका हुन्।

प्रतिनिधसभामा २७५ मध्ये २५८ जनाले शपथ लिँदा १७ जना अनुपस्थित रहे। उपिस्थतमध्ये २६ जना सांसदले विभिन्न १४ मातृभाषामा शपथ लिएको संघीय संसद् सचिवालयले जनाएको छ । उनीहरूले मंगलबार संसद् सचिवालयमा आफ्नो मातृभाषामा शपथ लिने भन्दै निवेदन दिएका थिए ।

उनीहरूले भोजपुरी, हिन्दी, उर्दू, थारु, तामाङ, नेपाल भाषा, सन्थाली, अवधी, मधेसी भाषा, कायु, संस्कृतलगायत १४ मातृभाषामा शपथ लिएका हुन्। मातृभाषामा शपथ लिनेमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतदेखि स्वतन्त्र सांसद लालवीर चौधरीसम्म छन्। 

जनमत पार्टीका अध्यक्ष सिके राउत, विनिताकुमारी साह र अनिता देवीले मधेसी भाषामा शपथ लिए भने जनमतकै अर्की सांसद सोनु मुर्मुले सन्थाली भाषामा शपथ लिइन्। माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले हिन्दी भाषामा शपथ लिए।

नागरिक उन्मुक्तिका रन्जिता श्रेष्ठ, अरुणकुमार चौधरी, गंगाराम डगौराले थारु भाषामा शपथ लिए। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अशोककुमार चौधरी, माओवादी केन्द्रकी रुपा सो.सी. चौधरी र स्वतन्त्र सांसद लालवीर चौधरीले पनि थारु भाषामै शपथ लिए। जनता समाजवादी पार्टीकी सांसद रन्जुकुमारी झा र राष्ट्रिय स्वतन्त्र पार्टीका मनीष झाले मैथिली भाषामा सांसदको शपथ लिए।

जसपाकै प्रदीप यादव र रामसहायप्रसाद यादव र माओवादी केन्द्रकी उमरावती देवी यादवले भोजपुरी भाषामा शपथ लिए। माओवादी केन्द्रका हितबहादुर तामाङ, मीना तामाङ र सूर्यमान तामाङ दोङले शपथका लागि तामाङ भाषा रोजे।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुमना श्रेष्ठले नेपाल भाषा, असिम साहले मुस्लिमरनेपाली भाषामा  शपथ लिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकै लक्ष्मी तिवारीले अवधी भाषामा शपथ लिइन्।

कांग्रेसकी कान्तिका सेजुवालले नेपाली खस भाषामा शपथ लिएकी छन्। एमालेका सराज अहमद फारुकीले उर्दू भाषामा शपथ लिए। सांसद दुर्गा राईले कोई (कोयू) भाषामा शपथ लिइन्। स्वतन्त्र सांसद किरणकुमार साहले संस्कृतमा शपथ लिए।

शपथ लिन नवनिर्वाचित सांसद राष्ट्रिय पोसाक तथा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा सजिएर संसद् भवन पुगेका थिए। 

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएको थियो। नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।
 
शपथअघि ज्येष्ठ सदस्य जबराले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बोलाउनुभएको बैठकमा सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले शपथ ग्रहणको प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक प्रणालीबाट निर्वाचित एक सय १० गरी कूल दुई सय ७५ सांसद छन् । 

शपथ समारोहको अगाडि संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले सबै नवनिर्वाचित सबै सांसदलाई स्वागत, बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो।
 

प्रकाशित मिति: १४:३७ बजे, बिहीबार, पुस ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्