एघार दिनदेखि तराईमा लागेन घाम
महोत्तरी, पुस ११ : शीतलहर र बाक्लो तुवालोले तराईमा जनजीवन कष्टकर बनेको छ। तराईका केही जिल्लामा एघार दिनदेखि घाम लाग्न सकेको छैन।
महोत्तरी सद....

महोत्तरी, पुस ११ : शीतलहर र बाक्लो तुवालोले तराईमा जनजीवन कष्टकर बनेको छ। तराईका केही जिल्लामा एघार दिनदेखि घाम लाग्न सकेको छैन।
महोत्तरी सदरमुकाम जलेश्वरसहित सम्पूर्ण मध्यवर्ती, पश्चिमी तथा दक्षिणी क्षेत्रमा विगत ११ दिनदेखि सूर्य नउदाउँदा असह्य जाडो भएको छ। यहाँको जनजीवन प्रभावित भएको छ।
शीतलहर, चिसो र कठ्याग्रिँदो हावा, हुस्सु तथा बाक्लो कुहिरोले पुस १ गतेदेखि नै यहाँको वातावरण बिग्रेको हो। चिसो स्याँठले गर्दा कामकाज गर्न समेत कठिन भएको छ।
त्यस्तै विभिन्न बारी तथा खेतहरुमा लगाइएको हिउँदे बाली दलहन र तरकारी पनि चिसोका कारण कुहिन थालेको कृषकले बताएका छन्। चिसोकै कारण अहिले जिल्ला सदरमुकाम जलेश्वरसहित शहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ।
चिसो बढेपछि जिल्लाको स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ।











