Kathmandu Press

पर्साको एक प्रिन्टिङ उद्याेगमा आगलागी हुँदा झन्डै १३ करोडको क्षति

विन्दवासिनी गाउँपालिका–३ गर्दौल गाउँमा हेमन्तकुमार चौरसियाले सञ्चालन गरेको उक्त उद्योगमा मंगलबार राति सवा ११ बजेतिर आगो लागेको थियो। 
पर्साको एक प्रिन्टिङ उद्याेगमा आगलागी हुँदा झन्डै १३ करोडको क्षति

वीरगन्ज, पुस ६ : पर्साको बिन्दवासिनीस्थित एस बाबा प्रिन्टिङ एन्ड प्याकेजिङ इन्डस्ट्रिजमा आगलागी हुँदा झन्डै १३ करोड बराबरको क्षति भएको छ।

विन्दवासिनी गाउँपालिका–३ गर्दौल गाउँमा हेमन्तकुमार चौरसियाले सञ्चालन गरेको उक्त उद्योगमा मंगलबार राति सवा ११ बजेतिर आगो लागेको थियो। 

आगलागीको खबर पाएलगत्तै प्रहरीको टोली पुगेको थियो। ७ घन्टाको निरन्तर प्रयासपछि बुधबार बिहान ६ बजे मात्र आगो नियन्त्रणमा आएको जनाइएको छ ।इलाका प्रहरी कार्यालय पोखरियाका अनुसार आगो नियन्त्रणमा लिन पर्सा, बाराका ११ वटा वारुणयन्त्र प्रयोग गरिएका थिए। वारुण यन्त्रसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी आगलागी नियन्त्रणमा खटिएका थिए।

सञ्चालक चौरसियाका अनुसार आगलागीबाट उद्योगमा रहेका मेसिन, कच्चा सामग्री र तयारी माल जलेर पूर्ण रुपले नष्ट भएका छन्। उद्योगमा रहेका कार्टुन बनाउने, प्रिन्टिङ गर्ने, प्लेट बनाउने, पार्टिसन गर्ने, प्याकेटमा जाली लगाउनेलगायत मेसिनरी सामग्री जलेर नष्ट हुनुका साथै फ्याक्ट्रीको भवनमा पनि क्षति पुगेको उनले बताए।


विद्युत सर्ट भई आगो लागेको हुन सक्ने अनुमान छ। जिल्ला प्रहरी कार्यालय पर्साले कसरी आगलागी भएको हो र कति क्षति भयो भन्नेबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रकाशित मिति: १२:०१ बजे, बुधबार, पुस ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्