Kathmandu Press

यस्तो छ कांग्रेस संसदीय दलकाे नेता चुनिएका देउवाको राजनीतिक यात्रा 

यसअघि उनी विसं २०५२, २०५७, २०७४ मा समेत संसदीय दलको नेता निर्वाचित भएका थिए । 
यस्तो छ कांग्रेस संसदीय दलकाे नेता चुनिएका देउवाको राजनीतिक यात्रा 

काठमाडौँ, पुस ६ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन् । 

पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा उनले अर्का उम्मेदवार पार्टीका महामन्त्री गगनकुमार थापालाई पराजित गरी निर्वाचित भएका हुन् । मतदानमा कुल मत ८९ खसेको र त्यसमध्ये सभापति देउवाले ६४ र महामन्त्री थापाले २५ मत प्राप्त गरे। 

सभापति देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहेका थिए। यसैगरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक नेता डा शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदिप पौडेल रहेका थिए । 

यस निर्वाचनका मतदाता भनेका पार्टीका प्रतिनिधि सभा सदस्य हुन । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा एवं प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको छ ।

सभापति देउवा योसँगै छैठौं पटक पार्टीको संसदीय नेता बनेका छन् । यस अघि उनी विसं २०५२, २०५७, २०७४ मा समेत संसदीय दलको नेता निर्वाचित भएका थिए । 

को हुन् देउवा ?  

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा स्थापित छन्। उनी पार्टीको १४औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि पुनः सभापतिमा निर्वाचित भएका थिए । 

कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका देउवाको जन्म २००३ साल जेठ ३१ गते डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा भएको हो । उहाँ हाल बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आएका छन् । 

विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय उहाँ विद्यार्थी आन्दोलनबाट राजनीतिमा भएका हुन। प्राथमिक शिक्षा गृह जिल्ला, माध्यमिक शिक्षा डोटी र उच्च शिक्षा काठमाडौंँमा हासिल गरेका उनँले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् । 

नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवं संस्थापक सदस्य देउवा राजनीतिशास्त्रमा लण्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो हुन् । विसं २०४८, २०५१, २०५६, २०७४ र २०७९ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उनी २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए। 

विसं २०४८ मा गृहमन्त्री बनेका देउवाले हालसम्म गरी पाचौँ पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् । पहिलोपटक विसं २०५२ भदौ २६ देखि २०५३ साल फागुन २६ गतेसम्म प्रधानमन्त्री  भएका देउवा विसं २०५८ साउन ७ गतेदेखि २०५९ साल असोज १८ गतेसम्म दोस्रोपटक प्रधानमन्त्री भएका थिए । 

सोही वर्ष असोज १८ गते उहाँलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले पदबाट बर्खास्त गरेका थिए। प्रधानमन्त्री देउवा २०६१ साल जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बनेपछि  राजा ज्ञानेन्द्रले उनलाई २०६१ साल माघ १९ गते पुनः पदबाट बर्खास्त गरेका थिए। 

प्रधानमन्त्री हुँदा उनले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेशलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस (कदमजम) लगायतको अवधारणा ल्याएर जनताको विश्वास जितेका थिए । उनँकै पालामा विशेष वर्ग एवं समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोग गठन भएका हुन् ।

पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठित नेपाली कांग्रेस (प्रजातान्त्रिक) का उहाँ सभापति बनेका थिए । पछि विसं २०६४ मा कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक) को एकतापछि उनी काँग्रेसको वरिष्ठ नेता भएका थिए । त्यसपछि विसं २०७२ फागुन २४ मा सम्पन्न कांग्रेसको १३औँ महाधिवेशनमा उनी सभापतिमा निर्वाचित भए। 

सभापति एवं पार्टी संसदीय दलका नेता देउवा व्यवस्थापिका–संसद्को बैठकबाट २०७४ साल जेठ २३ गते चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भई नेपालको संविधानअनुसार पहिलो पटक सङ्घीय संरचनाका तीन तहका निर्वाचन गराउन सफल भएका थिए। 

सभापति देउवा २०७८ साल असार २९ गते पाचौँ पटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका हुन् । त्यसयता उनी नेतृत्वकै सरकारले २०७९ साल बैशाख ३० गते स्थानीय तहको र मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सफलता पूर्वक सम्पन्न गरेको छ ।

सन् २००८ देखि २०१२ सम्म सोसलिष्ट इन्टरनेसनलका उपाध्यक्ष रहेका उनी सन् २०१३ देखि पछिल्लो कार्यकालसम्म उक्त संगठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष बनेका थिए। प्रजातान्त्रिक आन्दोलनका क्रममा उहाँले पटकपटक गरी १० वर्ष कारागार जीवन बिताए।  (भीष्मराज ओझा/रासस 

प्रकाशित मिति: ११:३१ बजे, बुधबार, पुस ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्