कांग्रेस संसदीय दलको उम्मेदवारका आ–आफ्नै दाबी

काठमाडौं, पुस ५ : नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् ।
सभापति देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा पार्टी उपसभापति पूर्णबहादुर खड्का रहेका छन्। यसैगरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावकमा नेता डा शेखर कोइराला तथा समर्थकमा उपभासपति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा रहेका छन् ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आज उम्मेदवारी दर्तापछि उनीहरुले मुलुकको अहिलेको आवश्यकता र जनताको चाहनाबमोजिम नै आफूहरुले उम्मेदवारी दिएको तर्क गरे। सभापति देउवाका प्रस्तावक रहेका पार्टीका वरिष्ठ नेता पौडेलले मुलुकको अहिलेको आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान सक्ने अनुभवी नेतृत्वका लागि सभापति देउवाको उम्मेदवारी रहेको बताए। उनले सभापति देउवालाई सर्वसम्मतीले संसदीय दलको नेता बनाउनुपर्ने आफ्नो धारणा रहेको उल्लेख गरे।
यसैगरी सभापति देउवाका समर्थक रहनुभएका पार्टी उपसभापति खड्काले संविधानको रक्षा र कार्यान्वयन, राजनीतिक स्थायित्व र मुलुकको उन्नती प्रगतिलाई द्रूत गतिमा अघि बढाउन तथा पार्टीको हितका लागि समेत सभापति देउवाको नेतृत्व आवश्यक रहेको बताए। गठबन्धन दललाई मिलाएर लैजान सक्ने अनुभवको उपयोगिताको आवश्यता र सबैले स्वीकार्ने नेतृत्वअनुसार सभापति देउवाको उम्मेवारी रहेको उनले तर्क गरे।
संसदीय दलको नेताका अर्का उम्मेवार पार्टीका महामन्त्री थापाले परिवर्तनको चाहनालाई सँगै लिएर जानसक्ने आत्मविश्वासका साथ उम्मेदवारी दिएको उल्लेख गर्दै पार्टीलाई रुपान्तरण गर्न सक्ने र संसदभित्र कांग्रेसको तर्फबाट नेतृत्व गरेर गौरव गर्न लायक काम गरेर सरकार चलाउने प्रतिबद्धता व्यक्त गरे। उनले जनचहनाअनुसार आफूले पार्टीलाई बदल्ने र देशलाई पनि बदल्ने क्षमताका साथ उम्मेदवारी दिएको तर्क गरे।
महामन्त्री थापाका प्रस्तावक रहनुभएका पार्टीका नेता डा कोइरालाले आफूहरुले विभिन्न चरणमा छलफल गरेर तथा स्थायित्व र निरन्तरताको एजेण्डाका साथ महामन्त्री थापालाई सर्मथन गरेको जानकारी दिए।
निर्वाचनका लागि उम्मेदवारी दरखास्त दिन आज दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको थियो । कांग्रेस संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते बुधबार हुँदैछ । कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले संसदीय दलको नेताको निर्वाचन सम्बन्धी कार्यतालिका सोमबार सार्वजनिक गरेको हो । कार्यतालिकाअनुसार सोमबार नै मतदाता नामावली प्रकाशन भइसकेको छ । निर्वाचनका मतदाता पार्टीका प्रतिनिधि सभाका सदस्य हुन् ।
मतदान बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा हुनेछ । समितिले उम्मेदवारको दरखास्त साथ दाखिल हुनुपर्ने शुल्क रु ५१ हजार तोकेको छ । मतदान समाप्त भएपश्चात् मतगणना र निर्वाचन परिणामको घोषणा हुनेछ । पार्टीका नेता भीष्मराज आङ्दम्बे संयोजकत्वको निर्वाचन समितिमा नेताहरु पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहेका छन् ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेर सङ्घीय संसदको सबैभन्दा ठूलो दल बनेको छ । संसदको सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्नका लागि पहल गर्न सुरु गरिसकेको छ ।
कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले संसदीय दलको नेताको निर्वाचन महत्वपूर्ण मानिन्छ । कांग्रेसको विधानको दफा ४० मा संसदीय दल सम्बन्धी व्यवस्था छ । उपदफा (२) मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ। (रासस)
–––











