संसदीय दलको नेतामा उम्मेदवारी दिने अडानबाट किन पछि हटे शेखर ?
कोइरालाले आफू पुस्तान्तरणसहितको पार्टी रुपान्तरणको पक्षमा रहेकाले संसदीय दलको नेताको उम्मेदवारमा गगन थापालाई प्रस्ताव गर्ने बताए ।
काठमाडौं, पुस ५ : कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । कांग्रेसभित्र रहेको दुई लाइन संघर्षका कारण सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन हुन नसक्दा निर्वाचनबाटै यसको टुंगो लगाउन लागिएको हो।
कांग्रेसको संस्थापन इतर पक्षमा पुनः सभापति शेरबहादुर देउवा नै उम्मेदवार बन्नेछन् । संस्थापन इतर पक्षबाट भने महामन्त्री गगन थापा उम्मेदवार बन्ने भएका छन् । इतर पक्षको दुईदिनदेखि जारी बैठक र छलफलबाट गगनलाई संसदीय दलको नेताको उम्मेदवार बनाउने सहमति भएको हो ।
मंसिर ४ गते सम्पन्न निर्वाचनको मनोननय दर्ताको दिनदेखि नै महामन्त्री थापाले आफूलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा चर्चा गरेका थिए । चुनाव जितेपछि उनका नेता शेखर कोइरालाले पनि दाबी गरेपछि इतर पक्षमा विवाद सुरु भएको थियो । तर, अन्तिममा शेखरले लचकता अपनाउँदै थापाका लागि बाटो खोलिदिएका छन् ।
सहमतिपछि संसदीय दलको नेतामा गगन थापा उम्मेदवार बन्दा उनको प्रस्तावक शेखर कोइराला बन्नेछन् भने समर्थकमा उपसभापति धनराज गुरुङ रहनेछन् ।
कोइरालाले आफू पुस्तान्तरणसहितको पार्टी रुपान्तरणको पक्षमा रहेकाले संसदीय दलको नेताको उम्मेदवारमा गगन थापालाई प्रस्ताव गर्ने बताए । महाधिवेशनमा यही मुद्दा सहित प्रतिस्पर्धा गरेका थियौं, अहिले गगन माननीयलाई संसदीय दलको उम्मेदवारको लागि प्रस्ताव गर्छु,’ मंगलबार होटल बसेराको बैठकमा कोइरालाले भने ।
कोइरालाले त्यसो भनेपनि पार्टीको १५ औं महाधिवेशनमा सभापतिमा आफूलाई सघाउने प्रस्तावमा गगन सहमत भएपछि मात्रै उनले संसदीय दलको उम्मेदवार बन्ने अडान छाडेका हुन् । अघिल्लो महाधिवेशनमा पनि कोइराला सभापतिका मउम्मेदवार थिए तर उनी शेरबहादुर देउवासँग पराजित बन्न पुगे ।











