संसद विघटन बिर्सेर गठबन्धनको विकल्प नखोज्न प्रचण्डलाई विश्वप्रकाशको सुझाव

काठमाडौं, पुस ५ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धनको विकल्प नखोज्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले जनताको भावना र मर्मविपरित जान नहुने बताउँदै गठबन्धनको विकल्प नरहेको बताएका हुन् ।
विभिन्न सञ्चारमाध्यमहरुमा माअोवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारमा जानका लागि अर्को गठबन्धनमा जान लागेको कुराहरु आइरहेको बताउँदै महामन्त्री शर्माले पुस ५ गतेको प्रतिगमन कहिल्यै बिर्सन नहुने बताएका हुन् ।
उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि अर्को गठबन्धन नखोज्न आग्रह गरे । ‘चुनावमा जाँदा एउटा गठबन्धन बनाउने, चुनाव सकिएपछि सत्ताको आकांक्षामा अर्को गठबन्धनको खोजी गर्ने काम हामी कसैले पनि गर्नुहुँदैन । आग्रह पूर्वागैह र सत्ताको आकांक्षाभन्दा माथि उठेर जानुपर्छ,’ महामन्त्री थापाले भने ।
उनले सत्ता समिकरणका लागि प्रचण्डले अन्य दलहरुसँग पनि छलफल गरेको कुरालाई कांग्रेसले सामान्य रुपमा लिएको बताए ।











