कांग्रेस संसदीय दलको नेतामा संस्थापन इतर पक्षबाट गगनले उम्मेदवारी दिने सहमति
मंगलबार बिहान नेता कोइराला र महामन्त्री थापा पक्षबीच भएको छलफलपछि गगन थापा संसदीय दलको नेताको उम्मेदवार बन्ने र शेखर कोइराला प्रस्तावक बन्ने सहमति भएको हो ।
काठमाडौं, पुस ५ : नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि संस्थापन इतर पक्षबाट महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिने सहमति भएको छ । लगातार दुई दिनदेखि चलेको छलफलपछि मंगलबार थापालाई देउवाविरुद्ध उम्मेदवार बनाउने सहमति जुटेको हो ।
मंगलबार बिहान नेता कोइराला र महामन्त्री थापा पक्षबीच छलफल भएको थियो । छलफलपछि गगन थापा संसदीय दलको नेताको उम्मेदवार बन्ने र शेखर कोइराला प्रस्तावक बन्ने सहमति भएको हो ।
थापाले मंसिर ४ को निर्वाचनका लागि मनोनयन दर्ता गराएकै दिनदेखि आफू प्रधानमन्त्री बन्न पार्टीको संसदीय दलको नेतामा उम्मेदवारी दिने बताउँदै आएका थिए । निर्वाचन लगत्तै शेखर कोइरालाले पनि संसदीय दलको नेतामा आफूलाई सघाउन आग्रह गर्दै आएका थिए । इतर पक्षका सांसदहरुले आफ्नो पक्षबाट एकजना मात्रै उम्मेदवार बनाउन र गगन र शेखरमध्ये एकजनालाई पछि हट्न दबाब दिँदै आएका थिए ।
कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ ।
संस्थापन पक्षबाट सभापति तथा बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार बन्ने निश्चित छ ।











