संसदीय दलको नेताको टुंगो लगाउन कांग्रेस इतर पक्षको बैठक बस्दै

काठमाडौं, पुस ५ : नेपाली कांग्रेसको संस्थापन इतर पक्षको बैठक बिहान ११ बजे बस्दैछ । संसदीय दलको नेतामा सहमति जुटाउनका लागि इतर पक्षको शीर्ष नेता र केन्द्रीय सदस्यहरुको बैठक बस्न लागेको हो ।
इतर पक्षबाट संसदीय दलको नेता बन्न महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले आ–आफ्नो दाबी नछाडेपछि छलफल बाट टुंगो लगाउन लागिएको हो । सोमबार दिनभर पनि सो पक्ष छलफलमा जुटेको थियो । छलफलमा कोइराला र थापामध्ये एकलाई ब्याक हुनका लागि नेताहरुले दबाब दिएका थिए ।
तर, दुबै नेता ब्याक हुन सहमत नदेखिएपछि आज पुन बैठक बस्न लागिएको हो । इतर पक्षबाट एकजना मात्र उम्मेदवार बन्न सके सभापति शेरबहादुर देउवालाई कडा टक्कर दिन सकिने भएकाले इतर पक्षका सांसदहरुले गगन र शेखरमध्ये एकजनालाई मात्र उम्मेदवार बनाउनु पर्ने बताउँदै आएका छन् ।
कांग्रेसमा संसदीय दलको नेताका लागि आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा एक मात्र उम्मेदवार छन् भने इतर पक्षबाट अहिलेसम्म थापा र कोइराला दुई जना दाबी छ ।











