Kathmandu Press

खोटाङको बाक्सिला बजारमा भीषण आगलागी, पाँच घर जलेर नष्ट, आगलागी नियन्त्रण बाहिर

जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजारस्थित स्थानीय दीपक गुरुङको घरबाट सुरु भएको आगो नियन्त्रण बाहिर रहेको प्रत्यदर्शीहरूले बताएका छन्।
खोटाङको बाक्सिला बजारमा भीषण आगलागी, पाँच घर जलेर नष्ट, आगलागी नियन्त्रण बाहिर
फाइल तस्बिर ।

खोटाङ, पुस ४ : केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा सोमबार साँझ भीषण आगलागी भएको छ।

जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजारस्थित स्थानीय दीपक गुरुङको घरबाट सुरु भएको आगो नियन्त्रण बाहिर रहेको प्रत्यदर्शीहरूले बताएका छन्।

आगलागीबाट अहिलेसम्म पाँचवटा घर तथा दर्जनभन्दा बढी पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बाक्सिलाले जनाएको छ। प्रहरीका अनुसार दीपक गुरुङ, रमेश परियार, शुभशेर राई र डिल्लीकुमार श्रेष्ठको घर पूर्णरूपमा जलेर नष्ट भएको हो।

आगलागी नियन्त्रणमा लिन स्थानीय अकबर राईको घर भत्काउने काम भइरहेको गाउँपालिका उपप्रमुख गुरुराज राईले जानकारी दिए। आगलागीबाट लाखौंको क्षति भएको उनले बताए।

‘आगलागी नियन्त्रणमा लिन गाउँपालिकाको जेसिबी प्रयोग गरेर स्थानीय अकबर राईको जल्दै गरेको घर ढाल्ने काम भइरहेको छ,’ उनले भने, ‘आगलागी हुनुको कारण अहिलेसम्म पत्ता लागेको छैन।’

आगलागीमा परेका अकबर राईबाहेक अन्य सबैको घरमा पसल तथा होटल सञ्चालनमा रहेको गाउँपालिका उपप्रमुख राईले जानकारी दिए। दीपकको घरमा स्थानीय रत्ना गुरुङको कपडा पसल, रमेशको घरमा टेलर्स,  शुभशेरको घरमा गाउँपालिका प्रमुख समीर राईको स्टेसनरी पसल तथा सोही घरको माथिल्लो तलामा इन्द्रा राईको होटल रहेको जनाइएको छ।

डिल्लीकुमारको घरमा स्वयं डिल्लीकुमारको कपडा पसल तथा उनका छोरा पवन श्रेष्ठको कपडा र भाँडा पसल थियो।  

जस्तापाताको छाना तथा ढुङ्गामाटोले बनेको परम्परागत घर भएका कारण आगलागी नियन्त्रणमा लिन समस्या भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए। अहिले प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणको प्रयास भइरहेको बताउँदै उनले दमकल अभावका कारण ठूलो क्षति भएको बताए।

 

प्रकाशित मिति: २१:२२ बजे, सोमबार, पुस ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्