स्थानीय तहलाई आत्मनिर्भर संस्थाका रूपमा विकास गर्दै लैजानुपर्छ : प्रधानमन्त्री देउवा
अधिकांश नगरपालिकाहरूमा अव्यवस्थित सहरीकरण बढेको पाइएको भन्दै उनले त्यसलाई तत्काल रोक्न र व्यवस्थित गर्न नगर प्रमुखहरूको ध्यानाकर्षण गराए।
काठमाडौं, पुस ४ : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई व्यवस्थित तरिकाले आत्मनिर्भर संस्थाका रूपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिएका छन्।
आज (सोमबार) नेपाल नगरपालिका संघको आठौं राष्ट्रिय अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘जनताको अपेक्षा र आवश्यक्तालाई उचित सम्बोधन हुनेगरी स्थानीय श्रोत, साधनको समुचित परिचालन गर्दै स्थानीय जनप्रतिनिधिको जनताप्रतिको आफ्नो दयित्व र जवाफदेहीतालाई कुशलताका साथ निर्वाह गर्न सक्नुपर्छ। स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाका रुपमा विकास गर्दै लैजानु आवश्यक छ।’
उनले जनताका अपेक्षा र आवश्यकतालाई उचित सम्बोधन हुनेगरी स्थानीय स्रोतसाधनको समुचित परिचालन गरी जनप्रतिनिधिले जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहितालाई कुशलताका साथ निर्वाह गर्नुपर्ने बताए।
स्थानीय सरकार आफ्ना कामकारबाहीलाई थप चुस्त, पारदर्शी, प्रविधिमैत्री बनाएर अघि बढ्नुपर्नेमा पनि प्रधानमन्त्री देउवाले जोड दिए। ‘स्थानीय सरकार जनताको घरआँगनको सरकार भएकाले नगरपालिकाहरुले आफ्नो काम कारबाहीलाई थप चुस्त, पारदर्शी, प्रविधिमैत्री बनाउँदै अघि बढ्न आवश्यक छ,’ उनले भने।
संविधानले स्थानीय तहलाई विकास निर्माण, सेवाप्रवाहको क्षेत्रमा महत्वपूर्ण अधिकार र जिम्मेवारी दिएको उनको भनाइ थियो। अधिकांश नगरपालिकाहरूमा अव्यवस्थित सहरीकरण बढेको पाइएको भन्दै उनले त्यसलाई तत्काल रोक्न र व्यवस्थित गर्न नगर प्रमुखहरूको ध्यानाकर्षण गराए।











