गठबन्धन बन्दा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको थियाे : प्रचण्ड
आज (सोमबार) चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘विगतमा हामीले गठबन्धन गर्दा आलोपालो गर्ने कुरा भएकै हाे।’
चितवन, पुस ४ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दलीय गठबन्धन बनाउने क्रममा आलोपालो गरेर प्रधानमन्त्री बन्ने सहमति भएको दाबी गरेका छन्।
आज (सोमबार) चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘विगतमा हामीले गठबन्धन गर्दा आलोपालो गर्ने कुरा भएकै हाे।’
लिखित औपचारिक केही नभए पनि गठबन्धन निर्माणका क्रममा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बेलामा जनादेश आइसकेपछि आलोपालो गरेर प्रधानमन्त्री बन्ने छलफल भएको र त्यो समझदारी अहिलेसम्म पनि टुटिनसकेको उनको भनाइ थियो।
प्रचण्डले विगतमा जेजस्ता सहमति भए पनि गठबन्धन दलहरुबीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसुभामुख पदमा प्याकेजमै सहमति खोजिने पनि बताए।
प्रधानमन्त्री बन्ने अवसर प्राप्त भए आफू तयार रहेको उनले बताए। तर प्रधानमन्त्री नै आफ्नो ‘बटमलाइन’ भन्नेचाहिँ केही नभएको र समझदारीमा जे पनि हुन सक्ने धारणा पनि उनले व्यक्त गरे।
उनले गठबन्धन कायम रहने र गठबन्धनभित्रैबाट प्रधानमन्त्री बन्ने विषय टुंगो लाग्ने बताए। उनले भने, ‘मैले प्रधानमन्त्रीका निम्ति सबै चिज दाउमा लगाउने काम कहिल्यै पनि गरेको छैन।’ गठबन्धनभित्र त्यसबारे कुनै कुरा नभए पनि निर्वाचनपछि सबै दलहरुका बीचमा छलफल भने भइरहेको उनले बताए।
अध्यक्ष दाहालले आफैं प्रधानमन्त्रीको रेसमा कुद्ने काम नगरेको स्पष्ट पार्नुभयो । राष्ट्रपति गैर राजनीतिक व्यक्ति हुने स्थिति नभएको स्पष्ट पार्दै उनले गठबन्धनभित्र या राजनीतिक दलहरु कसैसँग पनि यो विषयमा छलफल नभएको स्पष्ट पारे।
एमालेसहित अन्य दलहरुसँग सबैको कुराकानी भइरहेको भन्दै उहाँले नयाँ बनेका पार्टीसँग पनि छलफल भइरहेको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसँग दुई तीन पटक कुरा भएको भन्दै उनले सिके राउत र रेशम चौधरीसँग पनि भेट गरेको बताए।
नेकपा एमालेसँग एकता गर्ने विषय बाहिर आएको जसरी कुरा नभएको उनले बताए। सरकारले ल्याएको अध्यादेशको विषयमा उनले यसअघि भएका सम्झौता र सहमतिलाई सम्बोधन मात्र गरेको बताए।
सरकारले विगत कालमा मधेस केन्द्रित दल, विप्लव नेतृत्वको नेकपा र थारु कल्याणकारी सभासँग भएको समझदारीलाई सम्बोधन मात्रै गरेको भन्दै यो सामान्य प्रक्रिया मात्रै भएको उनले बताए।
२०७४ को स्थानीय तहको निर्वाचन भन्दा पालिकामा माओवादीले बढी जितेको भन्दै अध्यक्ष दाहालले प्रदेशमा विगतकै हाराहारीमा रहेको बताए। माओवादी केन्द्र एकदमै कमजोर भयो भन्ने कुरा त्यो सत्य नभएको उनले बताए।











