न्यायाधीश नियुक्तिका लागि छुट्टै पाठ्यक्रमको व्यवस्था गर्न जरुरी छ : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं, पुस ३ : कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिका लागि छुट्टै पाठ्यक्रमको व्यवस्था गर्न जरुरी भएको बताएका छन।
न्याय परिषद्को ३२औँ स्थापना दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले कानुनमा संशोधन गरेर भए पनि न्यायाधीश नियुक्तिका लागि पाठ्यक्रम बनाउनुपर्ने जरुरी भएको बताए। 'जुनसुकै तहको न्यायाधीश नियुक्तिका गर्न पनि एउटा कोर्ष पास गर्ने व्यवस्था गर्न जरुरी छ,' कामुप्रधानन्यायाधीश कार्कीले भने, 'कानुनमा संशोधन गरेर भए पनि यो काम गर्न जरुरी छ।'
न्याय परिषद्ले ठोस प्रमाणका आधारमा मात्र न्यायाधीशलाई कारबाही, नियुक्तिका लागि सिफारिस गर्ने गरेको उल्लेख गर्दै उनले सर्वोच्च, उच्च अदालतमा न्यायाधीशको सङ्ख्या खाली भएको कारणले गर्दा मुद्दा फछ्र्यौटमा कठिनाइ भएको बताए। 'सर्वोच्च अदातलमा मुद्दाको चाङ धेरै छ, अहिले पाँच वर्ष नाघेका मुद्दा धेरै घटाइरहेका छौँ,' उनले थपे, 'इजलासमा बसेर मुद्दाको सुनुवाइ गर्ने र घरमा गएर फैसला लेख्ने काम गरिरहेका छौँ।'
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताको न्याय सेवाप्रति अलिकति पनि कमी आउन नदिने गरी काम गर्नुपर्नेमा जोड दिए। 'न्याय सेवामा ढिलाइ भयो भन्ने गुनासो आइरहेको छ,' उनले भने, 'जनतालाई न्याय दिन ढिलाइ गर्नुभएन।'
महान्यायाधीवक्ता खम्मबहादुर खातीले न्यायाधीश नियुक्तिका लागि एउटा पाठ्यक्रम तयार गरी योग्य, दक्ष र कर्मठ न्यायाधीश न्याय सम्पादनका लागि नियुक्ति गर्नुपर्ने बताए। उनले न्यायाधीशलाई कारबाहीको प्रक्रिया पनि लम्व्याउने नहुनेमा जोड दिए। नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायालयको समग्र सुधारका लागि सबै मिलेर काम गर्नुपर्ने बताए।
कार्यक्रममा यस वर्षका उत्कृष्ट न्यायाधीशकारुपमा उच्च अदालत विराटनगर धनकुटा इजलासका न्यायाधीश रमेशकुमार खत्री र दोलखा जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई कामु प्रधानन्यायाधीश कार्कीले सम्मान गरेका थिए। उक्त अवसरमा कामु प्रधानन्यायाधीश कार्कीले न्याय परिषद् बुलेटिन बिमोजन समेत गरेकाे थियाे। न्याय परिषद्ले प्रत्येक पुस ३ गते न्याय परिषद् दिवस मनाउने गरेको छ।











