राष्ट्रपतिद्वारा नयाँ सरकार गठनको आह्वान, दलहरुलाई ७ दिनको समय
राष्ट्रपति भण्डारीले दलहरुलाई सात दिनको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेकी छन्।
काठमाडौं, पुस ३ : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।
आइतबार राष्ट्रपति कार्यालय शीतलनिवासका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिअनुसार, राष्ट्रपति भण्डारीले दलहरुलाई सात दिनको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेकी हुन्।
निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न निर्वाचनको प्रतिवेदन बुझाईसकेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनको आह्वान गरेकी हुन् ।
‘प्रधानमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा ७६ को उपधारा ९१० बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९ ।९।१० गते आइतबार १७ बजेभित्र दावी पेश गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आह्वान भएको व्यहोरा अनुरोध छ’, राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।












