कांग्रेस संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति गठन

काठमाडौं, पुस ३ : नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका निर्वाचन समिति बनाएको छ ।
आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीको संसदीय दलको नेता चयन गर्न सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाएको हो ।
नेपाली कांग्रेसबाट संसदीय दलको नेता बन्न आधा दर्जन भन्दा बढी नेताहरुले इच्छा देखाएका छन् । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल नेता शशांक कोइराला, प्रकाशमान सिंह, महामन्त्री गगनकुमार थापा लगायतले संसदीय दलको नेता बन्दै प्रधानमन्त्री बन्ने इच्छा देखाएका छन् ।
सभापति शेरबहादुर देउवा भने सकेसम्म सर्वसम्मत रुपमा आफूलाई संसदीय दलको नेताका रुपमा अनुमोदन गराउन चाहन्छन । त्यसका लागि उनले संसदीय दलको नेता बन्ने इच्छा देखाएका अन्य नेताहरुसँग संवाद गर्दै आइरहेका छन् ।
बैठकले सातैवटा प्रदेशमा प्रदेश संसदीय दलको नेता चयनको प्रक्रिया पनि सुरु गर्न निर्देशन दिएको छ ।
बैठकले कांग्रेसकै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय पनि गरेको छ । सरकार गठनका लागि गठबन्धन र गठबन्धन बाहिरका दलहरुसँग छलफल र संवाद अगाडि बढाउने निर्णय गरेको हो ।











