महापुरूषले घोषणा गर्यो ‘कार्बन तटस्थ’

काठमाडौं, पुस ३ : प्रदर्शनको ५१औँ दिन पार गरेको चलचित्र ‘महापुरूष’ को टोलीले फरक किसिमले खुसियाली साटेको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त चलचित्र पहिलो ‘कार्बन तटस्थ’ चलचित्र बनेको जानकारी दिएको छ । कार्बन उत्सर्जन कटौती गर्नेतर्फ महत्वपूर्ण वातावरणीय अध्याय थालिएको सो अवसरमा बताइएको थियो । चलचित्र निर्माणदेखि अन्त्यसम्म वीन्ड(पावर नेपालले गरेको अध्ययनमा महापुरुषले छ दशमलव ४१ टन कार्बन उत्सर्जन गरेको उल्लेख छ ।
ग्रीनहाउस ग्यास (जीएचजी) प्रोटोकलअनुसार उक्त संस्थाले अध्ययन गरेको हो । यो उत्सर्जन बेलायतमा चलचित्र निर्माण गर्दाको भन्दा ९० गुणाले कम रहेको अध्ययनमा सम्लग्न सम्राट पाठकले बताए । ‘बेलायतमा एउटा चलचित्र निर्माण गर्दा ६०० टन र हलिउडमा १८ सय टन कार्बन उत्सर्जन हुन्छ,’ उनले भने, ‘नेपाली चलचित्रमा यो सुरुवात मात्र हो । कार्बन तटस्थका सम्बन्धमा अन्य निर्माता जागरुक हुनुजरुरी छ।’
छायाङ्कनदेखि समापनसम्म तीन स्कोपअन्तर्गत रहेर ‘कार्बन फुटप्रिन्ट’को अध्ययन गरिएकामा चलचित्र छायाङ्कनको बेला प्रयोग भएको बिजुली बस चार हजार किमी गुड्दा तीन टन कार्बन उत्सर्जन हुनबाट जोगिएको समेत पाठकले जानकारी दिए । छ टनभन्दा बढी कार्बन उत्सर्जन गरेको तथ्याङ्क बाहिर आएपछि चलचित्र निर्माताले दुई सय ६६ रुख रोप्ने र ११ किलोवाट सोलार प्यानल जडान गर्ने घोषणा आयोजित पत्रकार सम्मेलनमा गरेका छन् । अभिनेता हरिवंश आचार्य एक्लैले गाउँमा डेढसय रुख रोप्ने र यसका लागि पानी ट्याङ्कीको निर्माण भइरहेको जानकारी दिए।
‘चलचित्रले ५१औँ दिन पूरा गरेको खुसियालीसँगै कार्बन तटस्थ घोषणा गर्न पाउँदा हर्ष लागेको छ । मैले रोप्ने रुखको हेरचाहसमेत म आफैँ गर्नेछु,’ उनले भने। चलचित्रका लेखक तथा निर्देशक प्रदीप भट्टराईले यसको सफलतासँगै दायित्व पनि थपिएको बताए। ‘यस सफलताले झनै दायित्व बोध भएको महसुुस भएको छ । सामाजिक संदेशलाई चलचित्रको शैलीमा दर्शकसम्म पु¥याउन मलाई थप ऊर्जा थपेको छ,’ उनले भने।
निर्देशक भट्टराईले यसअगाडि निर्देशन गर्नुभएको ‘जात्रा’, ‘शत्रु गते’ र ‘जात्रै जात्रा’ले समेत ५१औँ दिन पार गरेको थियो । उहाँ लगातार चौथोपटक दर्शकसँगै घरेलु बक्स अफिसमा सफल निर्देशक बनेका हुन् । मह सञ्चारसँग डेढदशकसम्म टेलिचलचित्रमा सहायक भएर सहकार्य गरेपछि निर्देशक बन्नुभएका भट्टराईले सफलताको श्रेय मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नै दिए।
चलचित्रमा मह जोडीसँगै गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा रहेका छन् । चलचित्रमा एक्लोपनको कथा देखाइएको छ ।
षट्कोण आर्ट्स प्रालिको ब्यानारमा निर्मित उक्त चलचित्रमा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ र निर्माता दिपेश खत्री रहेका छन् । यसैगरी दीपक बज्राचार्यको छायाङ्कन, मित्र डी गुरुङको सम्पादन रहेको छ । यही चलचित्रबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा डेब्यु गरेका छन् । (रासस)












