Kathmandu Press

संसदका महासचिवले सर्वोच्चमा पठाए जवाफ, जबरामाथिकाे महाभियोग निष्क्रिय भएको दाबी

स्रोतका अनुसार महाभियोग निष्प्रभावी भएको भनी आफूले निर्णय गरेको नभई यथार्थ स्थितिबारे सम्बन्धित निकायलाई जानकारी मात्र गराएको दाबी उनले पत्रमा गरेका छन्।
संसदका महासचिवले सर्वोच्चमा पठाए जवाफ, जबरामाथिकाे महाभियोग निष्क्रिय भएको दाबी

काठमाडौं, पुस ३ : संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएकाे महाअभियोग प्रस्ताव पनि निष्क्रिय भएको दाबी गरेका छन्।

आज (आइतबार) सर्वोच्च अदालतको संवैधानिक इजलासमा पठाइएको लिखित जवाफमा उनले त्यस्तो दाबी गरेको स्रोतको भनाइ छ। गौतमले प्रतिनिधिसभाको कार्यकाल सकिएपछि त्यसका अन्य बिजनेससँगै महाअभियोग प्रस्ताव पनि निष्क्रिय हुने दाबी गर्दै आएका छन्।

पूर्वप्रधानन्यायाधीश जबराको संसदमा विचाराधीन महाभियोग प्रस्ताव निष्प्रभावी भएको र उनको निलम्बन पनि खारेज हुने व्यहोराको पत्र पठाएर विवादमा तानिएका गौतमसँग सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुल कोर्ट) र संवैधानिक इजलासले पत्र दिनुको कारण कारण के हो भनेर स्पष्टीकरण सोधेका थिए।

जवाफमा उनले प्रतिनिधिसभाको एउटा कार्यकालको बिजनेस र प्रस्ताव अर्को प्रतिनिधिसभामा नजाने जिकिर गरेको बताइएको छ। कानुनमा कार्यकाल सकिएपछि प्रतिनिधिसभाका विधेयक निष्क्रिय हुने कानुनी प्रावधान रहेको तर्क उनले गरेको जनानाइएको छ। 

स्रोतका अनुसार महाभियोग निष्प्रभावी भएको भनी आफूले निर्णय गरेको नभई यथार्थ स्थितिबारे सम्बन्धित निकायलाई जानकारी मात्र गराएको दाबी उनले पत्रमा गरेका छन्।

उनले प्राकृतिक न्यायको सिद्धान्तअनुसार अभियोग लागेको व्यक्तिलाई अभियोगको अवस्था के छ भन्नेबारे जानकारी दिनु आफ्नो दायित्व भएको जिकिर पत्रमा गरिएकाे स्रोतको भनाइ छ।

प्रकाशित मिति: १५:३७ बजे, आइतबार, पुस ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्