श्रीमतीसँग डिभोर्स गरेका गायक रामकृष्ण ढकालले भने, ‘हामी सँगै छौँ’
काठमाडौं, पुस १० : गायक रामकृष्ण ढकालले आफूहरू सँगै रहेको जनाउँदै श्रीमतीको चरित्र हत्या हुने गरी टिप्पणी नगर्न आग्रह गरेका छन्।
बिहीबा....

काठमाडौं, पुस १० : गायक रामकृष्ण ढकालले आफूहरू सँगै रहेको जनाउँदै श्रीमतीको चरित्र हत्या हुने गरी टिप्पणी नगर्न आग्रह गरेका छन्।
बिहीबार गायक ढकालले फेसबुकमा लामो स्ट्याटस लेख्दै भनेका छन्, ‘हामी सधैं झैँ हाँसी खुशी परिवारमा सँगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।’
यसअघि उनी र निलमबीच बुधबार जिल्ला अदालत काठमाडाैंमा सम्बन्धविच्छेद भएको थियो। सम्बन्धविच्छेदलाई लिएर उनी र उनकी श्रीमती निलम शाहबारे सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका छन्।
उनले मिडियामा आएका समाचारका आधारमा टिकाटिप्पणी नगर्न आफ्नो स्रोता र दर्शकलाई अनुरोध गरेका छन्। उनले भनेका छन्, ‘पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन्। ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन् त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु।’
गायक ढकालले मिडियामा आएका समाचारका आधारमा आफ्नी श्रीमतीको चरित्र हत्या हुने गरी आइरहेका टिप्पणीप्रति खेद प्रकट गरेका छन्। उनले भनेका छन्, ‘मेरी श्रीमती निलमलाई जोडेर एक महिलाप्रतिको न्यूनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरी प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्दछु।’
गायक रामकृष्ण ढकालकाे फेसबुक स्ट्याटस :
मैले आफूले आफ्नो बोध भएदेखि नै गाउन थालेको हुँ। कति गाए त्यो अंकमा गनेको पनि छैन। जीवनको यो लामो अन्तरालमा मैले कति दर्शक/श्रोता कमाए भन्ने कुराको कहिल्यै लेखाजोखा गरिन। तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजोदेखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शीर्ष समाचार बानाएदेखि मलाई मेरा आफ्ना आलोचक र प्रशंसक कति रहेछन् भन्ने कुराको आभास भएको छ। सम्पूर्ण दर्शक श्रोताप्रति सधैँ कृतज्ञ छु र रहिरहनेछु।
पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन् ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन्। त्यसैले समाचारलाई विश्वास गरी मेरो परिवारप्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु। विशेषगरी मेरी श्रीमती निलमलाई जोडेर एक महिलाप्रतिको न्यूनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरी प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्दछु।
सार्वजनिक चासोको विषय बन्दाबन्दै पनि सबैका आ-आफ्नै पारिवारिक विषय हुन्छन् जुन नितान्त व्यक्तिगत हुन्छन्। व्यक्तिगत विषयमा टिप्पणी त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाई कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय हो।
यसर्थ मप्रति चासो देखाउनु हुने मेरा सम्पूर्ण दर्शक/श्रोतालाई यति कुरा प्रष्ट पार्न चाहान्छु कि आज म जे छु त्यो सबै तपाईं सम्पूर्ण दर्शक/ श्रोताका कारण छु तर नेपाली गितसंगीत क्षेत्रमा मलाई अनवरत रूपमा हिडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरी श्रीमती निलम हुन्। हामी सधैं झैँ हाँसी खुशी परिवारमा सँगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।
आशा छ तपाईंहरुको माया रहिरहने छ।
सबैको दिन शुभ रहोस!












