रमेश विकलका दुई पुस्तक लोकार्पण, छ पुरस्कृत

काठमाडाैं, पुस २ : साहित्यकार रमेश विकलको १४औँ स्मृति दिवसका अवसरमा दुई पुस्तक लोकार्पण भएका छन् । साहित्यकार विकलका प्रतिनिधि कथा र चार पुस्ताका कथा काठमाडौँ क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेले लोकार्पण गरेका हुन।
पुस्तक लोकार्पणपश्चात ‘रमेश विकलका प्रतिनिधि कथा’का सम्पादक प्रा डा हेमराज पौडेलले रमेश विकललाई नेपाली साहित्यको आख्याङ्क विराट व्यक्ति भनेर चिनिने बताए। साहित्यकार विकल विशेषगरी समाजका निम्न वर्गीय जीवनलाई प्राथमिकतामा राखेर निम्न वर्गलाई माथि उठाउने उद्देश्य र समाजलाई रुपान्तरण गर्ने चेतनाका साथ साहित्यमा अघि बढेको बताए।
साहित्यकार विकलका प्रतिनिधि कथाभित्र अनुहार मेटिएको मान्छे, आज फेरि नयाँ तन्ना फेरिन्छ, आतङ्कमा बाँचेका बस्ती, उसले जन्माएको छोरोलगायतका विषयवस्तु समावेश गरिएका छन् ।
त्यस्तै पुस्तक ‘चार पुस्ताका कथा’का सम्पादक आलोक चालिसेले साहित्यकार विकलका कथामा जे छ, व्यवहार र लेखनमा पनि एउटै कुराहरू समावेश हुनु उहाँको मुख्य विशेषता नै रहेको बताए। चार पुस्ताका कथाभित्र साहित्यकार रमेश विकलको पहिलो कथा गरिब, नयाँ सडकको गीत, उर्मिला भाउजु, एउटा बुढो भ्वाइलेन र उनको अन्तिम कथा विशाल किराँत प्रदेशको दुर्दान्त सिकारी शासक समावेश गरिएका छन् ।
शनिबार गोकर्णेश्वर नगरपालिकास्थित आरुबारीमा विकल स्मृति दिवस तथा पुरस्कार समर्पण समारोहमा रमेश विकल साहित्य प्रतिष्ठानले विभिन्न छ वटा विधामा पुरस्कार वितरण गरेको थियो ।
जसमा रमेश विकल विङ्मय पुरस्कारबाट तेजेश्वरबाबु ग्वंग, विकल–सुशीला समाजसेवा पुरस्कारबाट सपना रोका मगर, रमेश विकल–सिर्जना पुरस्कारबाट रमेश गोर्खाली, विकल बालसाहित्य पुरस्कारबाट लक्ष्मी उप्रेती, विकल–सुशीला सङ्घर्षशील महिला पुरस्कारबाट धर्मशिला चापागाईँ र रमेश विकल कला–सङ्गीत पुरस्कारबाट बद्री अधिकारीलगायतलाई नगदसहित पुरस्कृत भएका थिए।
रमेश विकल साहित्यिक प्रतिष्ठानका सदस्यसचिव विजय चालिसेले साहित्यकार विकलबाट नेपाली साहित्यमा चयन गरिने भाषाशैली, लेखनशैली र सरल शब्दहरू नयाँ पुस्ताले उनीबाट सिक्नुपर्ने बताए। साहित्यकार विकलले लिएका अग्रगमनको प्रकृति समाज पछि धकेल्ने नभएर समाज अघि बढाउनेमा योगदान रहने खालका सन्देश नेपाली साहित्यमा हुनुपर्ने सदस्यसचिव चालिसेले बताए।
गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसालले साहित्य क्षेत्रमा नगरपालिकाले विभिन्न खालका गतिविधि गर्दै आएको बताए। उनले रमेश विकल साहित्य प्रतिष्ठानलाई अगाडि बढाउन नगरको पनि दायित्व भएको जनाए।












