Kathmandu Press

साढे पाँच हजार उद्योगमा विदेशी लगानी स्वीकृत

उद्योग विभागको ‘विदेशी लगानीसम्बन्धी मासिक प्रगति विवरण’अनुसार गत कात्तिक मसान्तसम्म वैदेशिक लगानी भित्र्याउने उद्योगहरुमध्ये सेवा र पर्यटन क्षेत्रका उद्योगको सङ्ख्या मात्रै आधाभन्दा बढी छन्।
साढे पाँच हजार उद्योगमा विदेशी लगानी स्वीकृत

काठमाडौं, पुस २ : नेपालमा हालसम्म साढे पाँच हजारभन्दा बढी उद्योगमा विदेशी लगानी स्वीकृत भएकामा पर्यटन र सेवामूलक क्षेत्रका उद्योगमा तुलनात्मक रुपमा बढी लगानी भएको देखिएको छ।

उद्योग विभागको ‘विदेशी लगानीसम्बन्धी मासिक प्रगति विवरण’अनुसार गत कात्तिक मसान्तसम्म वैदेशिक लगानी भित्र्याउने उद्योगहरुमध्ये सेवा र पर्यटन क्षेत्रका उद्योगको सङ्ख्या मात्रै आधाभन्दा बढी छन्। विभागको विवरणअनुसार गत कात्तिक मसान्तसम्म पाँच हजार छ सय २८ उद्योगका लागि आएको वैदेशिक लगानी प्रस्ताव स्वीकृत भइसकेको छ।

यी उद्योगमा हालसम्म कूल रु चार खर्ब ३० अर्ब ८६ करोड ९७ लाख ५८ हजार बराबरको वैदेशिक लगानी स्वीकृत भइसकेको विभागको तथ्याङ्कबाट देखिन्छ। गत कात्तिकमा मात्र विभागले रु तीन अर्ब ६५ करोड बराबरको वैदेशिक लगानी स्वीकृत गरेको थियो। 

यद्यपि, लगानी प्रस्ताव गरेका उद्योगको सङ्ख्या र रकम भने निकै बढी छ। गत असार मसान्तसम्ममा मात्र आठ हजार सात सय ६४ उद्योगका लागि कूल रु २६ खर्ब २७ अर्ब बराबरको लगानी प्रस्ताव भएको देखिन्छ। तर वैदेशिक लगानी प्रस्तावको तुलनामा लगानी स्वीकृत भएको रकम भने १६ प्रतिशत बराबर मात्रै हो।

लगानी स्वीकृत भएकामध्ये सेवामूलक र पर्यटनका क्षेत्रका उद्योग बढी छन्। गत कात्तिक मसान्तसम्ममा सेवामूलक क्षेत्रमा एक हजार आठ सय ६७ र पर्यटन क्षेत्रमा एक हजार आठ सय ५५ प्रस्ताव स्वीकृत भइसकेको विभागले जनाएको छ। त्यस्तै, हालसम्म प्रस्ताव स्वीकृत भएका उत्पादनमूलक उद्योग एक हजार दुई सय ६९, ऊर्जामूलक उद्योग ९१, कृषिमूलक दुई सय ९५, खनिजमूलक ७२,  पूर्वाधार उद्योग ५५ र सूचना प्रविधि उद्योग एक सय २४ छन्।

हालसम्म वैदेशिक लगानी स्वीकृत भइसकेका उद्योगमध्ये ठूला उद्योग तीन सय २३, मझौता उद्योग छ सय २२ र साना उद्योग चार हजार छ सय ८३ छन्। त्यस्तै हालसम्म वैदेशिक लगानी भित्रिएका साढे पाँच हजारभन्दा बढी कम्पनीबाट दुई लाख ९७ हजार नौ सय ३५ जनाले रोजगारी पाएको पनि विभागको विवरणमा उल्लेख छ।

विदेशी लगानीकर्ता वा निजको आधिकारिक प्रतिनिधि र उनीहरुको परिवारका सदस्यलाई विदेशी लगानी स्वीकृत भएपछि लगानीका आधारमा उद्योग विभागले व्यावसायिक राहदानी उपलब्ध गराउँँदै आएको छ। विभागले गत कात्तिकमा मात्र चार सय ५९ विदेशीलाई राहदानीका लागि सिफारिस गरेको देखिन्छ। नेपालमा वैदेशिक लगानी गरेका लगानीकर्ता तीन सय ३७, वैदेशिक लगानीकर्ताका प्रतिनिधि तीन र आश्रित भिसा ८९ जनालाई उपलब्ध गराइएको विभागले जनाएको छ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ अनुसार रु ६ अर्ब सम्मको विदेशी लगानी उद्योग विभागबाट स्वीकृत हुन्छ। त्योभन्दा माथिको लगानी भने लगानी बोर्डको कार्यालयले स्वीकृत गर्ने प्रावधान रहेको छ।

प्रकाशित मिति: १८:०२ बजे, शनिबार, पुस २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्