Kathmandu Press

पत्रकारितालाई संकुचित बनाउने प्रयास भइरहेको छ : पूर्वराष्ट्रपति यादव

'जहाँ लोकतन्त्र छ, त्यहाँ स्वतन्त्र पत्रकारिता हुन्छ अभिव्यक्तिको स्वतन्त्रता हुन्छ। तर स्वतन्त्रता विस्तारै सङ्कुचनमा गइरहेको छ', उनले भने, 'यहाँ मात्र होइन संसारमै यो चुनौती देखिन थालेको छ।'
पत्रकारितालाई संकुचित बनाउने प्रयास भइरहेको छ : पूर्वराष्ट्रपति यादव

काठमाडाैं, पुस २ : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले पत्रकारितालाई सङ्कुचित बनाउने प्रयास भइरहेकाले त्यसतर्फ सजग रहन पत्रकारहरूलाई सुझाव दिएका छन्। आज नेपाल पत्रकार महासङ्घको प्रतिष्ठान प्रदेश समितिको दोस्रो वार्षिक साधरणसभामा उनले पत्रकारिता क्षेत्रको चुनौतीको चर्चा गरे।
 
'जहाँ लोकतन्त्र छ, त्यहाँ स्वतन्त्र पत्रकारिता हुन्छ अभिव्यक्तिको स्वतन्त्रता हुन्छ। तर स्वतन्त्रता विस्तारै सङ्कुचनमा गइरहेको छ', उनले भने, 'यहाँ मात्र होइन संसारमै यो चुनौती देखिन थालेको छ।'

उनले विश्वमा भइरहेको लोकतन्त्रको लडाइँमा साथ दिनका लागि नेपाली पत्रकारको ध्यानाकर्षणसमेत गर्नुभयो। पूर्व राष्ट्रपति यादवले विश्व परिवेषलाई ध्यान दिनुपर्नेमा जोड दिँदै भने, 'ताइवानमा तीन लाख नेपाली छन्। त्यहाँको आन्दोलनमा के भइरहेको छ रु यता बर्मामा भइरहेको आन्दोलनमा पनि नेपाली पत्रकार र पत्रकारका संघसंगठनले केही बोल्ने हो कि?'

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले यस वार्षिक साधारणसभामार्फत श्रम र सम्पादकीय स्वतन्त्रका विषयमा गहन छलफल हुनुपर्ने बताए। 'पत्रकारिताभित्र श्रमको उचित मूल्याङ्कन हुनसकेको छैन। सम्पादकीय स्वतन्त्रताको अवस्था के छ भन्ने कुरामा समीक्षा गर्नुपर्ने भएको छ,' उनले भने। 

महासङ्घका प्रतिष्ठान प्रदेशका महासचिव बालकृष्ण अधिकारीले कोरोना महामारीका बीच पनि प्रतिष्ठानले गरेको कामको समीक्षा र आगामी रणनीति निर्माणका लागि छलफल हुने बताए।
 
कार्यक्रममा प्रदेश परिषद् सदस्यमा मनोनीत कान्तिपुर दैनिकका अतुल मिश्र, राजधानी दैनिकका राजेन्द्र श्रेष्ठ, ग्लोबल टेलिभिजनका प्रकाश गिरी, नागरिक दैनिकका पवित्रा सुनार, नेपाल टेलिभिजनका टंक उप्रेती, रातोपाटी डटकमका रोहित दाहाल र नेपाल समाचारपत्रका दीपक रिजाल र कारोबार दैनिकका बालकृष्ण ज्ञवालीलाई प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा पाँचवटा प्रतिष्ठान शाखालाई सम्मान गरिएको थियो।

प्रकाशित मिति: १७:५१ बजे, शनिबार, पुस २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्