‘नेवाः विश्वविद्यालय स्थापना र वागमती सफाइमा काठमाडाैं र ललितपुर महानगरबीच सहकार्य आवश्यक’
ललितपुर महानगरपालिकाको १०४औं स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले काठमाडौं र ललितपुर महानगरबीच सहकार्य भए नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र वागमती सफाइ सम्भव हुने धारणा राखेका हुन्।
काठमाडौं, पुस २ : काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापनाका लागि ललितपुर महानगरपालिकासँग सहकार्य गर्न आग्रह गरेका छन्। उनले वागमती नदीको सफाइ अभियानमा पनि ललितपुर महानगरको सहकार्यको आवश्यकता औंल्याएका छन्।
ललितपुर महानगरपालिकाको १०४औं स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले काठमाडौं र ललितपुर महानगरबीच सहकार्य भए नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र वागमती सफाइ सम्भव हुने धारणा राखेका हुन्।
‘उपत्यकाको कला, संस्कृति र सभ्यता नयाँ पुस्तामा हस्तान्तरण तथा अन्तर्राष्ट्रियकरणका लागि नेवाः सम्बन्धी विश्वविद्यालयको खाँचो छ,’ उनले भने, ‘ललितपुर जेठो नगरपालिका भएकाले सम्पदा, संस्कृति अथवा नेवाः सभ्यतासम्बन्धी युनिभर्सिटीका लागि पनि पहल गरिदिन म अनुरोध गर्छु। काठमाडौं र ललितपुर महानगरले सहकार्य गरेर सो कार्य सम्भव छ।’
नेवाः सभ्यताभित्र धेरै पक्ष रहेकाले सबैले पढुन्, नयाँ पुस्ताले ती कुरा सिक्न पाउन् भन्ने चाहना आफूमा रहेको उनले बताए। दुवै महानगरपालिकाले गर्नुपर्ने अर्को महत्वपूर्ण काम वागमतीको स्थायी सरसफाइ हुनुपर्ने पनि मेयर साहले बताए।
उनले उपत्यकाको स्थायी सरसफाइका लागि काठमाडौं र ललितपुर महानगर मिलेर लाग्नुपर्नेमा पनि जोड दिए। ‘हामी दुईटा महानगरपालिका, वागमती सभ्यता एकीकृत परियोजना, सहरी विकास मन्त्रालयले सहकार्य गरेर वागमतीको पानीलाई निलो सफा पानी बनाउन सहकार्य गर्नैपर्छ।’ उनले प्राचीन ढुंगेधारा संरक्षणमा ललितपुर महानगर गरेको काम उदाहरणीय रहेको पनि बताए।











