उपत्यकामा मेट्रो रेलको विकल्प छैन, महानगरहरूले पहल गर्नुपर्छ : चिरिबाबु
शनिबार ललितपुर महानगरपालिकाको १०४औं स्थापना दिवसका अवसरमा बोल्दै उनले मेट्रो रेल धेरै महँगो छ भनेर पछि हट्न नहुने बताए।
काठमाडौं, पुस २ : ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो रेलको विकल्प नरहेको बताएका छन्।
शनिबार ललितपुर महानगरपालिकाको १०४औं स्थापना दिवसका अवसरमा अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले मेट्रो रेल धेरै महँगो छ भनेर पछि हट्न नहुने बताए।
मेट्रो रेलको विकल्प मोटरसाइकल हुन नसक्ने दाबी गर्दै उनले भने, ‘अब पनि मोटरसाइकलको बिक्री बढाएर उपत्यकामा ट्राफिक जाम बढाउनुभन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नु उचित हुन्छ।’
आज मेट्रो रेल ल्याउने निर्णय गरे १०–१५ वर्षभित्रमा त्यो सम्भव हुने उनको भनाइ थियो। ‘काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प नै छैन। आज निर्णय गर्नसक्यौं भने अर्को १० देखि १५ वर्षसम्ममा त्यो सकिन्छ,’ उनले भने, ‘मेट्रो महंगो छ रे तर सस्तो के छ त? १५ वर्षपछि उपत्यकाको जनसंख्या ६० लाख पुग्छ। विकल्प के त? फेरि मोटरसाइकल नै ल्याउने?’
उनका अनुसार अन्तर्राष्ट्रिय अध्ययनले ३० लाख जनसंख्या भएको ठाउँमा मेट्रो अपरिहार्य रहेको देखाएको छ। नेपाल सरकारको अनुहार हेरेर बस्ने हो भने केही पनि नहुने पनि उनले बताए।
‘काठमाडौं र ललितपुर महानगरपालिकालगायत काठमाडौं उपत्यकाका १८ वटा पालिकाले राम्रो भूमिका खेल्नुपर्छ,’ उनले भने, ‘त्यसमा पनि काठमाडौं महानगरपालिकाका मेयरले प्रमुख भूमिका खेल्नुपर्छ।’ उक्त कायक्रममा काठमाडाैं महानगरपािलकाका मेयर चिरिबाबु महर्जनकाे पनि उपस्थिति थियाे।











