चार वर्षअघिकाे अभिव्यक्ति विवादमा परेपछि साेविताले भनिन्- प्रभावितमाथि पर्न गएको आघातप्रति मलाई खेद छ
आफूमाथि उठेका प्रश्नले थप संवेदनशील हुन घच्घच्याएको पनि उनको प्रस्टोक्ति छ।
काठमाडाैं, पुस २ : चार वर्षअघि एउटा अन्तर्वार्ताका क्रममा दिइएको विवादित अभ्व्यिक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी नेतृ एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सोविता गौतमले आफूलाई पश्चात्ताप लागेको बताएकी छन्।
उनले आज (शनिबार) लगातार तीनवटा ट्विट गरेर उनले आफ्नो अभिव्यक्तिप्रति आपत्ति जनाइएको विषयलाई आफूले मनन गरेको स्पष्टीकरण दिएकी छन्। उनले बलात्कारले महिलाको शरीरमा कुनै हानिनोक्सानी नहुने बताएकी थिइन्।
उनको असंवेदनशील अभिव्यक्तिप्रति अधिकारकर्मी र आम नागरिकले चर्को विरोध गरेपछि गौतमले आफैंप्रति खेद व्यक्त गरेकी छन्। आफूमाथि उठेका प्रश्नले थप संवेदनशील हुन घच्घच्याएको पनि उनको प्रस्टोक्ति छ।
अध्ययन र अनुभवले आफ्नो बुझाइ अहिले आएर परिष्कृत भएको बताउँदै उनले लेखेकी छन्, ‘अभिव्यक्तिको आशयभन्दा अन्यथा अर्थ लागेर प्रभावितमाथि पर्न गएको आघातप्रति मलाई खेद छ।’
अन्तर्वार्ताका क्रममा उनले बलात्कार सामान्य घटना भएको तर बलात्कारलाई ठुलो विषय बनाएर डलर कमाउने काम भइरहेको आशय झल्कने भनाइ राखेकी थिइन्। बलात्कारको विषयले महिलाहरूलाई धेरै भावुक बनाएको तर्क पनि उनले अन्तर्वार्तामा गरेकी थिइन्।
‘यौन हिंसा प्रभावितलाई हीनताबोध गराउनुभन्दा उनीहरुप्रति स्वाभाविक व्यवहार गर्दा मनोवैज्ञानिक आरोग्य र सामाजिक पुनर्स्थापना सहज हुन सक्छ भन्ने मेरो आशय हो,’ उनले लेखेकी छन्, ‘त्यस कुरा प्रस्ट पार्न प्रयोग गरेको उदाहरण असंवेदनशील भयो भनेर यहाँहरुले आपत्ति जनाउनुभएको कुरालाई मैले मनन गरेकी छु।’
उनले यो पनि लेखेकी छन्, ‘चार वर्षअघिको त्यो उदाहरण आज मैले पक्कै पनि प्रयोग गर्दिनँ । किनकी, अध्यध्यन र अनुभवले मेरो बुझाइ अहिले परिष्कृत भएको छ। पीडित शब्दले पनि हिंसामा पर्नेलाई असर गर्छ भनेर सर्वाइवर वा प्रभावित शब्द प्रयोग गर्न थालिएको छ। यसरी नै हामीले आफ्नो बुझाइको दायरा फराकिलो बनाउने हो।’











