Kathmandu Press

चिसो बढेपछि कम्बल वितरण गर्ने मधेश प्रदेश सरकारको तयारी

शीतलहरबाट जोगिन पूर्वतयारीबारे प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग प्रत्यक्ष सम्पर्कमा प्रदेश सरकार रहेको मन्त्री साहले बताए ।
चिसो बढेपछि कम्बल वितरण गर्ने मधेश प्रदेश सरकारको तयारी

जनकपुर, पुस २ : शीतलहर र चिसो बढेसँगै मधेस प्रदेश सरकारले कम्बल वितरण गर्ने तयारी थालेको छ। शीतलहरबाट प्रभावित गरिब, विपन्नको तथ्यांक संकलन गरी कम्बल वितरण गर्ने तयारी सुरु गरिएको हो।

प्रदेश सरकारले सुरक्षा निकाय सम्मिलित प्रदेश विपद् व्यवस्थापन समितिको बैठकबाट शीतलहरबाट प्रभावित गरिब, विपन्नको तथ्यांक संकलन गर्ने र त्यही आधारमा कम्बल वितरण गरिने निर्णय भएको  मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह बताए।

‘चिसोबाट प्रभावितको लागि न्यानो लुगा र कम्बलको जोहो गरिरहेका छौं’, मन्त्री साहले भने, ‘चिसोबाट प्रभावितलाई कम्बल वितरणको तयारी थालेका छौँ, स्थानीय तहसँग समन्वय गरेर काम अघि बढाइनेछ ।’

यस वर्ष चिसोको कारण कुनै किसिमको मानवीय क्षति हुन नदिन न्यानो लुगासँगै काठ दाउरा वितरणको कामसमेत अघि बढाउन समन्वय भइरहेको छ। शीतलहरबाट जोगिन पूर्वतयारीबारे प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग प्रत्यक्ष सम्पर्कमा प्रदेश सरकार रहेको मन्त्री साहले बताए ।

विगतमा जाडो बढेपछि चोकचोकमा आगो बाल्न दाउराको व्यवस्था हुँदै आएको छ र यस पटक पनि स्थानीय प्रशासनसँग छलफल गरेर तयारी गरिरहेको मन्त्री साहले बताए।

चिसो बढेसँगै सुरक्षाकर्मीले विभिन्न चोकचोकमा आगो बाल्न दाउरा वितरण थालेका छन्। बर्सेनि चिसोबाट मधेस प्रदेशमा करिब १५ प्रतिशत नागरिक प्रभावित हुने गरेको प्रदेश नीति तथा योजना आयोगको तथ्याङ्कले देखाएको छ।

प्रदेशको कूल जनसङ्ख्यामध्ये करिब १५ प्रतिशत जनसंख्या दलित, विपन्न छन्, ती सबै चिसोबाट प्रभावित हुने गरेका छन् । हरेक वर्ष हुने शीतलहर र चिसोका कारण अनाहकमा सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् ।

 

प्रकाशित मिति: १०:०० बजे, शनिबार, पुस २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्