६० वटा सवारी चालक अनुमतिपत्र निलम्बन गर्न विभागलाई पत्राचार

काठमाडौं, पुस १ : काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर महिनामा ६० वटा सवारी चालक अनुमति पत्रलाई निलम्बनको लागि यातायात ब्यवस्था विभाग पठाएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच (५) पटकभन्दा बढी उल्लंघन गरेको पाइएकोले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन्।
निलम्बनका लागि पठाईएका सबै भन्दा धेरै कारवाहीमा १ जना ४४ पटक , ३५ पटक कारवाही १ जना , २४ पटक परेका ३ जना , १४ पटक परेका १ जना , १२ पटक परेका ७ जना ,७ पटक परेका २ जना र ६ पटक कारवाहीमा परेका ४५ जना गरी जम्मा ६० जनाका सवारी चालक अनुमति पत्र निलम्बनको लागि यातायात ब्यवस्था विभाग पठाएको हो ।
उनीहरुले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाईएको थियो । ट्राफिका नियम उल्लघंन गरीरहने चालकहरु बाट नै सवारी दुर्घटना भएको तथ्याङकले समेत देखाएको छ ।
सवारी दुर्घटनामा परेका अधिकांश सवारी चालक यस अघि पनि पटक पटक कारवाहीमा परेको समेत काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताएका छन्।











