आप्रवासी श्रमिकलाई क्षतिपूर्ति दिन मागसहित फिफा अध्यक्षलाई पत्र
श्रमिकहरूको पीडालाई ‘बेवास्ता गर्ने कार्य बन्द गर्न’ उक्त पत्रमा आह्वान गरिएको छ।
काठमाडौं, पुस १ : नेपालका नागरिक समाज समूहले आप्रवासी श्रमिकहरूको क्षतिपूर्तिको मागदाबीलाई अस्वीकार गर्ने कार्य बन्द गर्न सार्वजनिक पत्र लेखेर फिफा अध्यक्षलाई आह्वान गरेका छन्।
कतारमा आफूले भोगेको दुव्र्यवहारको क्षतिपूर्ति पाउनबाट आप्रवासी श्रमिकहरू वञ्चित भइरहेका बेला नेपालका तीन दर्जन नागरिक संघसंस्थाहरूले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई सम्बोधन गर्दै बिहीबार एक खुला पत्र लेखेका हुन्। श्रमिकहरूको पीडालाई ‘बेवास्ता गर्ने कार्य बन्द गर्न’ उक्त पत्रमा आह्वान गरिएको छ।
कतारले सन् २०१८ मा स्थापना गरेको क्षतिपूर्ति कोषमा नेपाल फर्किएका आप्रवासी श्रमिकहरू आफूले भुक्तानी नपाएको तलब फिर्ता पाउने सवालमा कसरी पहुँच प्राप्त गर्न असमर्थ छन् भन्ने विषयमा पनि स्पष्ट गरेको छ। यस्तै आफ्ना प्रियजनको मृत्युको कारणको अनुसन्धान नगरिँदा शोकसन्तप्त परिवारले क्षतिपूर्ति प्राप्त गर्न सकेका छैनन् भन्ने विषयको उठान पनि पत्रले गरेको छ।
‘श्रमिकहरूको अधिकारको सम्मान गर्न र दुव्र्यवहारमा परेका श्रमिक र आफन्त गुमाएका परिवारहरूलाई क्षतिपूर्ति दिन सहमत भएको फिफालाई ती वाचाहरू पूरा गर्न जियानी इन्फान्टिनोलाई आह्वान गर्न हामी एकसाथ आएका छौं,’ प्रवासी नेपाली समन्वय समितिका कार्यकारी निर्देशक सोम प्रसाद लामिछानेले भने, ‘कतारमा धेरै श्रमिकहरूले सामना गर्नुपरेको दुव्र्यवहारको वास्तविक मानवीय मूल्य हामीलाई थाहा छ। परिवारहरू गरिबीको चपेटामा परेका छन्, बालबालिका विद्यालयबाट निकालिएका छन् र श्रमिकहरू ऋण तिर्न फेरि प्रवास जान बाध्य भएका छन्। फिफाले यस वास्तविकताको अनदेखा गर्न मिल्दैन र यसलाई सच्याउन आवश्यक कार्य गर्नुपर्छ।’
सन् २०२२ फिफा विश्वकप आयोजना गर्न आवश्यक पर्ने विशाल पूर्वाधार परियोजना निर्माणलगायत कतारका विभिन्न क्षेत्रहरूमा नेपालका करिब ४ लाख श्रमिक कार्यरत रहेको पत्रमा उल्लेख छ। नागरिक समाज समूहले वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा ठुलो भूमिका खेलेको भए पनि खाडी र अन्यत्र काम गर्न जानेहरू नियमित रूपमा श्रम शोषणको सिकार भएको जनाएको छ।
नेपाली श्रमिकहरूले रोजगारी प्राप्त गर्न सामान्यतया १ हजार अमेरिकी डलरभन्दा बढी अवैध भर्ना शुल्क तिर्ने गरेको तथा मानवअधिकार संघसंस्थाहहरूले विश्वकपसँग जोडिएका लगायत कार्यस्थलहरूमा जबर्जस्ती श्रम र चुक्ता नगरिएको ज्यालाका विषयमा पनि प्रश्न उठाइएको छ। चरम गर्मीबाट श्रमिकहरूलाई पर्याप्त सुरक्षा दिइएको थियो भने मात्र पनि सन् २००९ देखि २०१७ का बीचमा निर्माण क्षेत्रमा काम गर्ने कम्तीमा २०० नेपाली श्रमिकको मृत्युलाई रोक्न सकिने एउटा ‘पियर रिभिउड’को अध्ययनले देखाएको पत्रमा उल्लेख छ।
‘विश्वकपको अन्तिम सिट्टी बज्दै गर्दा यति धेरै आप्रवासी श्रमिकहरूको योगदान र बलिदानलाई कतै बिर्सिइने त होइन र उनीहरूको न्याय र क्षतिपूर्तिको मागलाई बेवास्ता गरिने त होइन भन्ने एउटा ठुलो खतरा रहेको छ,’ एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भने, ‘यदि फिफाले यो खेललाई सम्भव बनाउने मानिसहरूप्रति सम्मान देखाउन चाहन्छ भने जियानी इन्फ्यान्टिनोले अन्ततः श्रमिक र तिनका परिवारहरूलाई क्षतिपूर्ति सुनिश्चित गर्न सहमति जनाउनुपर्छ। उनीहरूको मागदाबीलाई अब बेवास्ता गरिनुहुँदैन।’
सन् २०२२ को मे महिनादेखि मानवअधिकार संघसंस्था, ट्रेड युनियन र फुटबलप्रेमीहरूको समूहको एउटा विश्वव्यापी सञ्जालले श्रमिकहरूलाई क्षतिपूर्ति दिन र भविष्यमा हुने दुव्र्यवहारहरू रोक्न फिफा र कतारलाई एउटा उपचारात्मक कार्यक्रम स्थापना गर्न आह्वान गर्दै आएको छ। उक्त आह्वानलाई १२ वटा फुटबल संघ र चारवटा फिफा प्रायोजकहरूले समर्थन गरेकोसमेत समूहले जनाएको छ।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

