गुरु न्यौपाने र ज्ञानेन्द्रलाल प्रधानलाई कारबाही गर्ने धितोपत्र बोर्डको निर्णय

काठमाडौं, पुस १ : नेपाल धितोपत्र बोर्डले रिडी पावर कम्पनीका सञ्चालक समितिका अध्यक्ष गुरुप्रसाद न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलाई कारबाही गर्ने निर्णय गरेको छ । न्यौपाने र प्रधानले अवैध रुपमा शेयर कारोबार गरेको ठहर गर्दै बोर्डले उनीहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिमा रहेकै अवस्थामा दुबैले सेयर कारोबार गरेको तथ्य बोर्डले फेला पारेको थियो । दुबैले कानुन विपरित सेयर कारोबार गरेको भेटिएपछि उनीहरुलाई हदैसम्मको कारबाही गर्न विभागीय स्तरबाट सिफारिस भएपछि बोर्डको सञ्चालक समितिले दुवैलाई स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
यससम्बन्धमा चित्तबुझ्दो जवाफ नआए कानुन अनुसार कारबाही गरिने बोर्डले जनाएको छ । प्रधानले कम्पनीको अध्यक्ष पद छाड्नसाथ नियम विपरीत श्रीमती, छोरा र छोरीको नाममा रहेको ६ करोड रुपैयाँभन्दा बढी मूल्यको सेयर बिक्री गरेका थिए । रिडी पावरका अध्यक्ष रहँदा न्यौपानेले १९ चैत २०७७ देखि ४ भदौ २०७८ सम्म रिडी हाइड्रोपावरको २८ हजार ९५३ कित्ता सेयर किनेर ३९ हजार २२३ कित्ता सेयर बेचेका थिए ।
बोर्डले न्यौपाने आफैंले र उनको परिवारका सदस्यले उक्त कम्पनीको सेयर दोस्रो बजारमा कानून विपरीत बेचेको भन्दै ६ पुस २०७८मा नै कारबाही सिफारिस प्रतिवेदन बुझाएको थियो ।
धितोपत्र दर्ता निष्कासन नियमावली अनुसार ‘कुनै पनि सूचीकृत कम्पनीको सञ्चालक, कार्यकारी प्रमुखलगायतका पदाधिकारीहरुले पदमा रहँदा वा पदबाट हटेको १ वर्षसम्म आफ्नो वा आफ्नो परिवार र आफू संलग्न कम्पनीमार्फत् त्यस्तो कम्पनीको सेयर खरिदबिक्री गर्न नपाइने व्यवस्था’ छ ।











