विश्वविद्यालय राजनीतिबाट मुक्त हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं, मंसिर २९ : प्रधानमन्त्री एवं शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त हुनुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौं विश्वविद्यालयको धुलिखेलमा आयोजित २८ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रीत हुनुपर्ने बताएका हुन् ।
‘विश्वविद्यालय विद्यार्थीमा ज्ञान, सीप र दक्षता विकास गर्न तथा उहाँहरुमा लुकेको प्रतिभा र सिर्जनालाई उजागर गरी समाज र देशको हितका लागि प्रयोग गर्न सहयोग पुर्याउने पवित्र शैक्षिक केन्द्र हो’, उनले भने, ‘विश्वविद्यालयहरु राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्दछ ।’
उनले काठमाडौँ विश्वविद्यालयले विगत तीन दशकदेखि गुणस्तरीय एवं प्राविधिक शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशील, सिर्जनशील र क्षमतावान जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउँदै आएको बताए।
नेपालका उच्च शिक्षाको क्षेत्रमा काठमाडौँ विश्वविद्यालयको आफ्नो इमान, गरिमा र छुट्टै पहिचान रहेको बताउँदै उनले विश्वविद्यालयबाट उत्पादित जनशक्ति देशभित्र मात्र नभइ विदेशमा पनि महत्वपूर्ण संस्थामा आवद्ध भई उत्कृष्ट सेवा पुर्याउँदै आउनु सबैका लागि गर्वको विषय भएको उनले बताए ।











