Kathmandu Press

‘प्रसाद २’ को छायाङ्कन सुरु

‘प्रसाद २’ को छायाङ्कन सुरु

काठमाडौं, मंसिर २९ : फिल्म ‘प्रसाद २’ को छायाङ्कन आजदेखि सुरु भएको छ । माछापुच्छ्रे गाउँपालिकामा फिल्मको मुहुर्त गर्दै छायाङ्कन सुरू गरिएको प्रस्तुतकर्ता सुवास थापाले जानकारी दिए। 

‘डेढ महिनाको सेड्युल तय गरेर छायाङ्कन सुरू गरेका हौँ । फिल्मलाई ग्रामीण कथामा निर्माण गर्दैछौँ भने हिमाली सुन्दरता समेत कैद गर्दैछौँ,’ प्रस्तुतकर्ता थापाले भने । फिल्ममा मुहुर्तको दृश्य मुख्य कलाकार विपिन कार्की र केकी अधिकारीले दिए । उनीहरु प्रसाद–२ मा श्रीमान् तथा श्रीमतीको भूमिकामा छन्। 

Hardik ivf

एस.जी. फिल्म्स र सुलभ थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई सुदर्शन बस्नेतले निर्माण गर्दै छन्।  निर्देशक थापाको निर्देशनमा तयार हुने फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायतका कलाकारको अभिनय रहनेछ। 

यसमा राजेश श्रेष्ठको छायाङ्कन, उत्तम न्यौपानेको ध्वनि, राजनराज सिवाकोटीको सङ्गीत रहनेछ । फिल्मलाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । ‘प्रसाद’ हिट भएपछि यसको सिक्वेलका रूपमा ‘प्रसाद २’ को निर्माण हुन लागेको हो । लेखक पौडेलले फिल्मको कथा अभिनेता कार्की र अभिनेत्री अधिकारीमा केन्द्रीत रहने बताए। ‘दुईको प्रेम र त्यसले निम्त्याउने सङ्घर्षलाई फिल्ममा देखाइनेछ,’ लेखक पौडेलले भने। 

प्रकाशित मिति: १६:५३ बजे, बिहीबार, मंसिर २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्