आयोगले प्रधानमन्त्री देउवासमक्ष बुझायाे निर्वाचन प्रतिवेदन
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायतले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उक्त प्रतिवेदन बुझाएका हुन्।
काठमाडाैं, मंसिर २९ : निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन बुझाएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायतले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उक्त प्रतिवेदन बुझाएका हुन्। उक्त अवसरमा प्रधानमन्त्रीले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद दिएका थिए।
निर्वाचन आयोगका पदाधिकारीहरुले सरकारको पूर्ण सहयोगका कारण चुनाव सम्पन्न गर्न सहज भएको प्रधानमन्त्री देउवाकाे भनाइ थियाे।
थपलियाले निर्वाचनको सारसंक्षेप, असल अभ्यास एवं चुनौतीबारे अवगत गराएका थिए। सो अवसरमा निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा, आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलको उपस्थिति थियो।
आयोगले आगामी पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका प्रदेश प्रमुखसमक्ष आयोगका पदाधिकारीबाट प्रतिवेदन प्रस्तुत गरिने जनाएको छ।












