अब सदन र सडकमा जाने बाटो खुला भयो : डा भट्टराई
काठमाडौं, पुस ९ : समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै अब पार्टीलाई सदन र सडकम....

काठमाडौं, पुस ९ : समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै अब पार्टीलाई सदन र सडकमा जाने बाटो खुला भएको बताएका छन्।
बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारबाट मुद्दा स्थापित गर्ने प्रयास असफल भएकाले सशक्त प्रतिपक्षको रुपमा उभिएर अब सडक र सदनबाट जनताको अधिकार स्थापित गराउन सक्रिय हुने बताएका हुन्। अहिलेको सरकारले समाजवादी पार्टीलाई सडकमा जान बाध्य पारेको दाबी गर्दै उनले पार्टीले सकारात्मक र सक्रिय प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए।
डा. भट्टराईले संविधान संशोधनको विकल्प नरहेको समेत उल्लेख गरे। अध्यक्ष भट्टराईले माओवादी पार्टीमा रहँदादेखि नै अपूर्ण संविधानलाई पूर्णता दिनुपर्छ भनेर आफूले बोलेको स्मरण गर्दै पहिचानमा आधारित सङ्घीयता आवश्यक हुनेमा जोड दिए। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक प्रणाली आजको आवश्यकता भएको बताए।
सभामुखका विषयमा सोधिएको एक प्रश्नमा डा भट्टराईले प्रतिपक्ष भएपछि विचार मिल्ने र मुद्दा मिल्ने शक्तिसँग मुद्दाको आधारमा सहकार्य गर्नु स्वभाविक भएको तर सभामुखमा पार्टीको तर्फबाट कुनैपनि आकांक्षा नरहेको बताए। रासस











