मानसिक हिंसाको उजुरी दर्ता सबैभन्दा बढी
आयोगद्वारा आज आयोजित कार्यक्रममा कुल उजुरीमध्ये ४२ प्रतिशत मानसिक हिंसासम्बन्धी उजुरी रहेको जानकारी दिइएको हो।
काठमाडौं, मंसिर २९ : राष्ट्रिय महिला आयोगले चालु आर्थिक वर्षको चार महिनामा मानसिक हिंसासम्बन्धी सबैभन्दा धेरै उजुरी परेको जानकारी दिएको छ।
आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा कुल उजुरीमध्ये ४२ प्रतिशत मानसिक हिंसासम्बन्धी उजुरी रहेको जानकारी दिइएको हो।
आयोगमा साउनदेखि कात्तिकसम्म मानसिक हिंसासम्बन्धी तीन सय २५ ९४२ प्रतिशत०, आर्थिक हिंसासम्बन्धी दुई सय २४ ९२९ प्रतिशत०, शारीरिक हिंसासम्बन्धी एक सय ९८ (२६ प्रतिशत) र यौनजन्य हिंसा २२ (३ प्रतिशत) दर्ता भएका छन्।
'केन्द्रमा मात्र सहज पहुँच हुनाले बागमती प्रदेशमा बढी उजुरी दर्ता भएको हुनसक्छ', आयोग अध्यक्ष कमलाकुमारी पराजुलीले भन्नुभयो, 'आयोग ग्रामीण समुदायबाट पनि उजुरी दर्तामा होस् भनी सहज वातावरण सिर्जना गर्न पहल गरेका छौँ।'
कार्यक्रममा चालु आवको चार महिनामा आयोगद्वारा भएका स्थलगत अनुगमन, सचेतनामूलक कार्यक्रम तथा प्रकाशन, दर्ता भएका उजुरीलगायतका गतिविधिबारे जानकारी दिइएको थियो।











