Kathmandu Press

‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित

भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, लुम्लिङटारबाहेक अन्य विमानस्थलको अपुग भिजिबिलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। 
‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित

काठमाडाैं, मंसिर २९ : तराईमधेसमा बाक्लो हुस्सुकुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन्।

भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, लुम्लिङटारबाहेक अन्य विमानस्थलको अपुग भिजिबिलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। 

कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले विशेषगरी तराई क्षेत्रका विमानस्थलमा अगामी केही दिन हुस्सुकुहिरोले भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित निरन्तर हुन सक्ने उल्लेख गरे।

भिजिबिलिटी कमजोर रहेकाले बिहानैदेखि तराई क्षेत्रका सबैजसो विमानस्थलमा उडान प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए।

'तराईका विमानस्थलमा भिजिबिलिटी कम रहेकाले बिहानैदेखि उडान प्रभावित भएको छ। केही विमानस्थल १२ बजेपछि खुल्छन् कि भन्ने प्रतिक्षामा छौं। उडान प्रभावित हुँदा यात्रुलाई गन्तव्यमा पुग्न सास्ती भएको छ,' उनले भने। यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आज भद्रपुर र पोखराबाहेक सबै विमानस्थलको उडान प्रभावित भएको छ। बिहानैदेखि उडान प्रभावित हुँदा यात्रुमर्कामा परेका छन्।
    
आन्तरिकतर्फ दैनिक करिब ३ सय उडान हुन्छन्। बुद्ध एयरको सबैभन्दा बढी दुईतर्फी करिब एक सय ५० उडान हुन्छ। यती एयरलाइन्सको दैनिक ५८ उडान हुने गरेको छ। यस्तै आन्तरिक उडानमा श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, गुण एयरलाइन्सले पनि विभिन्न गन्तव्यमा उडान गर्छन्। आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान गर्दै आएका छन्।
  
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेपनि तराई भूभागको केही स्थानमा हुस्सुकुहिरो लाग्नुका साथै देशको पहाडी भूभागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। आज काठमाडौँको अधिकतम तापक्रम १९ डिग्रि सेल्सियस र न्यूनतम तापक्रम ७ दशमलव ६ डिग्रिसेल्सियस रहेको छ।

प्रकाशित मिति: १२:३९ बजे, बिहीबार, मंसिर २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्