नगर प्रमुखहरुलाई बोलाएर पर्यटनमन्त्रीले भने- भ्रमण वर्ष सफल पार्न ध्यान दिनुस्
काठमाडौं, पुस ९ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन आवश्यक सबै खालका तयारीका ....

काठमाडौं, पुस ९ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन आवश्यक सबै खालका तयारीका लागि काठमाडौं उपत्यकाभित्रका दुई महानगरपालिकासहित १८ वटै नगरपालिका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृत समक्ष आह्वान गरेका छन्।
मन्त्रालयमा बुधबार काठमाडौं उपत्यकाका सबै नगरपालिकाका प्रमुख, उप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतसँगको छलफलमा मन्त्री भट्टराईले सबैको एकतावद्ध प्रयत्नवाट मात्र कार्यक्रम सफल हुने भएकाले सबै एक ठाउँमा छौं भन्ने सन्देश दिन पनि भ्रमण वर्ष उद्घाटन समारोहमा सबैको सहभागिता अनिवार्य हुने बताएका हुन्।
आफ्नो भगिनी सम्बन्ध भएका विभिन्न मुलुकका नगरपालिकासँग सहकार्य गरेर त्यहाँका पर्यटक नेपाल ल्याउन आग्रह गर्दै मन्त्री भट्टराईले महानगरपालिका, नगरपालिका तहबाट गरिने अन्तर्राष्ट्रिय कार्यक्रम भ्रमण वर्षभर नेपालमै गर्ने वातावरण बनाउन पनि आग्रह गरे।
भ्रमण वर्ष २०२० एउटा अभियान मात्र भएको उल्लेख गर्दै मन्त्री भट्टराईले भने,‘मुलुकको समृद्धिको मूल आधार भनेको पर्यटन हो। त्यसैले हामी कम्तिमा एक दशकलाई पर्यटन वर्षका रुपमा मनाउन र दिगो पर्यटनका लागि सबै पूर्वाधार तयार गर्ने अभियानमा छौं।’
पूर्वाधार विकासकै लागि सरकारले अहिले नयाँ पूर्वाधारमा जोड दिएको र त्यही अन्तर्गत लुम्बिनी, पोखरा लगायतका नयाँ अन्तर्राष्ट्रिय, क्षेत्रीय विमानस्थलको निर्माण कार्य भइरहेको उनले बताए। आगामी दुई वर्षपछि काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलले हवाई यात्रुको चाप थेग्न नसक्ने भएकाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुको विकल्प नभएको उनको भनाइ छ।
मन्त्री भट्टराईले भने–‘काठमाडौंबाट सबै नजिक भएकाले र फास्ट ट्रयाकको निर्माण पनि अन्तिम चरणमा पुगेकाले निजगढ विमानस्थलको विकल्प छैन। यो बनाउनै पर्छ र बन्छ।’ नेपाल आउने पर्यटक मध्ये ९० प्रतिशतभन्दा वढी हवाइ मार्गबाट आउने र एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा नै भएकाले काठमाडौंले पर्यटकलाई राम्रो इम्प्रेसन दिनुपर्ने मन्त्री भट्टराईले बताए। त्यसका लागि विश्व सम्पदा क्षेत्रमा परेका उपत्यकाका सात सम्पदा जोड्ने साइकल लेन बनाउने देखि, पर्यटक मैत्री सार्वजानिक शौचालय, रात्रीकालीन जीवन, मठ मन्दिरमा लाइटिङ, पदमार्ग निर्माण जस्ता कुरामा यहाँका स्थानीय निकायले बढी ध्यान दिनुपर्ने उनले बताए।
छलफलमा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, बुढानिलकण्ठ, टोखा, भक्तपुर, महालक्ष्मी, कीर्तिपुर, गोकर्णेश्वर, चागुँनारायण, तारकेश्वर, दक्षिणकाली, शंखरापुर, चन्द्रागिरी, नार्गाजुन, मध्यपुर ठिमी, सुर्यविनायक लगायतका सबै नगरपालिकाका प्रमुख-उपप्रमुखहरु सहभागी थिए।











