Kathmandu Press

‘कम्युनिष्ट पार्टीको पुनर्गठन आवश्यक छ’

‘कम्युनिष्ट पार्टीको पुनर्गठन आवश्यक छ’

काठमाडाैं, मंसिर २८ : नेपाली कम्युनिष्ट पार्टीहरूले आफ्नो अस्तित्व जोगाउन विचार मिल्नेसँग एकता नभए कार्यगत सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौँमा आज आयोजित एक कार्यक्रमका वक्ताहरूले हालै सार्वजनिक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामले पनि त्यो पुष्टि गरेको धारणा राखे।

‘कम्युनिष्ट पार्टीहरुको पुनर्गठनको आवश्यकता र औचित्य’ विषयक अन्तक्र्रियामा नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजीत बुढाथोकीले नेपाली कम्युनिष्ट सङ्कटतर्फ उन्मुख भएको बताउँदै पुनर्गठनको आवश्यकता रहेको औँल्याए। उनले नेपाल र नेपाली जनताको मुक्ति चाहने क्रान्तिकारी कम्युनिष्टहरू, सच्चा लोकतन्त्रवादी, राष्ट्रवादी, प्रगतिशील तप्का एकजुट हुनुपर्नेमा जोड दिए।

नेकपा (समाजवादी)का अध्यक्ष राजु कार्कीले श्रमजीवी जनता र राष्ट्रियताको रक्षाका लागि नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठनको आवश्यकता बढ्दै गएको उल्लेख गरे। उनले नेपालमा भएको पटक–पटकका आन्दोलन तथा क्रान्तिमा नेताहरूले धोका दिएको र ठूला भनिएका कम्युनिष्ट पार्टीहरू सत्ताको भागबण्डा नमिल्दा एक हुन नसकेको समेत टिप्पणी गरे।

नेकपा परिवर्तनका अध्यक्ष जोगमान लामाले क्रान्तिकारी कम्युनिष्ट आन्दोलन कमजोर भएका कारण प्रतिक्रियावादी तथा यथास्थितिवादी शक्तिहरू बलियो बन्दै गएको बताए। कम्युनिष्ट पार्टीप्रति जनताको अपेक्षा र भरोसा बढी भएको तर नेताहरूले धोका दिएकाले जनविश्वास घट्दै गएको उनको भनाइ थियो।

प्रकाशित मिति: २०:३३ बजे, बुधबार, मंसिर २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्