Kathmandu Press

‌ओली सरकारले गुमायो दुई तिहाइ, नहुँदा के हुन्छ?

काठमाडौं, पुस ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले आफूसँग भएको दुई तिहाइको बहुमत गुमाएको छ। 

‌ओली सरकारले गुमायो दुई तिहाइ, नहुँदा के हुन्छ?
फाइल

काठमाडौं, पुस ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले आफूसँग भएको दुई तिहाइको बहुमत गुमाएको छ। 

समाजवादी पार्टी नेपालले सरकारबाट बाहिरिएर समर्थन पनि फिर्ता लिएसँगै सरकारको दुई तिहाइको बहुमत पनि गुमेको हो। सरकारलाई समर्थन गरेको राष्ट्रिय जनता पार्टी (राजपा)ले ६ महिनाअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

दुई वर्ष नपुग्दै ओली नेतृत्वको सरकारले दुई तिहाइ बहुमत गुमाएको हो। संविधान संशोधनमा सहमति जनाएर सरकारलाई समर्थन दिएको र सरकारले त्यसप्रति कुनै पहल नगरेको भन्दै समाजवादी पार्टी मंगलबार सरकारबाट बाहिरिएको हो। राजपाले पनि संविधान संशोधनमा सरकारले कुनै पहल नगरेको भन्दै समर्थन फिर्ता लिएको थियो।

सरकारले दुई तिहाइको बहुमत गुमाउँदा सरकारको काम कारबाहीमा कुनै असर गर्दैन। तर संविधान संशोधन, संवैधानिक अंगका पदाधिकारी तथा न्यायाधीशहरुमाथि महाअभियोग प्रस्ताव पारित गर्न सरकारसँग दुई तिहाइ बहुमत अब हुनेछैन। संविधान संशोधन वा महाअभियोग जस्ता प्रस्ताव पास गर्न अब फेरि कांग्रेस वा मधेसवादी दलको साथ खोज्नु पर्ने हुन्छ। 

२ सय ७५ सदस्यीय संघीय संसदमा नेकपा १ सय ७४ सिटसहित स्पष्ट बहुमतमा मात्रै छ। यसअघि समाजवादी पार्टीको १७ सिटसहित सरकारसँग दुई तिहाइ बहुमत थियो। २ सय ७५ सदस्यीय संघीय संसदमा दुई तिहाइ बहुमतका लागि १ सय ८४ सिट आवश्यक हुन्छ।

संघीय संसदमा नेकपाको १ सय ७४ सिट, कांग्रेस ६३, समाजवादी पार्टीको १६, राजपा १७, राप्रपा, स्वतन्त्र र राष्ट्रिय जनमोर्चाको एक-एक सिट छ।  

राष्ट्रियसभामा नेकपाको ३९, कांग्रेसको १३, संघीय समाजवादी फोरम र राजपाको दुई-दुई सिट छ। राष्ट्रियसभामा पनि नेकपा स्पष्ट बहुमतमा छ।

प्रकाशित मिति: १६:४५ बजे, बुधबार, पुस ९, २०७६