उपेन्द्र यादवले भने- ओलीको दुई तिहाइको दम्भ आजदेखि समाप्त भयो
काठमाडौं, पुस ९ : समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको दुई....
काठमाडौं, पुस ९ : समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको दुई तिहाइ दम्भ समाप्त भएको बताएका छन्।
पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार पत्रकार सम्मेलन गरी अध्यक्ष यादवले आफूहरुले दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री ओलीको दुई तिहाइको दम्भ आजदेखि समाप्त भएको बताए।
सरकारबाट बाहिरिएको भोलिपल्ट सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय सुनाउँदै अध्यक्ष यादवले भने,‘ सरकार एकपछि अर्को असफलतामा फसेको छ। आजदेखि दुई तिहाइको दम्भ समाप्त भएको छ।’
उनले अब प्रतिपक्षमा बसेर संविधान संशोधन लगायतका मुद्दामा लड्ने पनि बताए। ‘अब हामीले संविधान संशोधनको मुद्दालाई प्रतिपक्षमा बसेर जोडदार साथ उठाउँछौं,’ उनले भने,‘ जसरी पनि अब सबैको संविधान बनाउनुपर्छ।’
उनले सरकारमा कम्युनिष्ट पार्टी बाहेक अरु दल पनि छन् भन्ने कुराको अन्त्य भएको बताए। अध्यक्ष यादवले प्रधानमन्त्री ओलीले आफूले अघि बढाउन खोजेको संविधान संशोधनको प्रस्ताव अस्वीकार गरेपछि नैतिकताका आधारमा सरकारबाट बाहिरिनु परेको बताए।
उनले प्रधानमन्त्री ओलीले आफ्नो दलसँग सहकार्य गरेर भन्दा पनि एकलौटी ढंगले अघि बढ्न खोजेको आरोप लगाए। यादवले संविधानमा भएका त्रुटीहरु केलाएर संशोधन गर्न संविधानविद्को विज्ञ टोली बनाएर अध्ययन गर्ने प्रस्ताव आफूले मन्त्रिपरिषदमा लगेको तर प्रधानमन्त्री ओलीले ठाडै अस्वीकार गरेको बताए।
कानून मन्त्रीको हैसियतमा आफूले लगेको प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार गरेपछि नैतिकताका आधारमा सरकार छोड्नु परेको स्पष्ट पारे।
संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार गरेपछि मंगलबार समाजवादी पार्टीका तर्फबाट सरकारमा सहभागी यादव र मोहम्मद इस्तियाक राईले राजीनामा दिएका थिए। राजीनामा दिएको एक दिनपछि समाजवादी पार्टीले बुधबार सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।
समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि ओली नेतृत्वको सरकारले दुई तिहाइ बहुमत गुमाएको छ।






