Kathmandu Press

दाइजोको निहुँमा पत्नीमाथि हिंसा गरेकाे आरोपमा डा. पंकज चौधरी पक्राउ

जिल्ला प्रहरी कार्यालय महोत्तरीले मंगलबार राति डा. पंकज चौधरीलाई रामगोपालपुर-५ स्थित उनकै घरबाट पक्राउ गरेको हो।
दाइजोको निहुँमा पत्नीमाथि हिंसा गरेकाे आरोपमा डा. पंकज चौधरी पक्राउ

काठमाडाैं, मंसिर २८ : दाइजोको निहुँमा पत्नी नेहा चौधरीमाथि हिंसा गरी घरबाट निकालेको आरोप लागेका डा. पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले मंगलबार राति डा. पंकज चौधरीलाई रामगोपालपुर-५ स्थित उनकै घरबाट पक्राउ गरेको हो। महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीका अनुसार पंकजलाई घरेलु हिंसा र दाइजोविरुद्धको मुद्दामा पक्राउ गरिएको हो।

यसअघि डा. पंकजमाथि घरेलु हिंसामा जाहेरी परेको र त्यसबारे अनुसन्धान जारी रहेकोमा विवाहमा अत्यधिक दाइजो लिएको भन्ने अर्को जाहेरी पर्न आएकाले प्रहरीले पंकजलाई पक्राउ गरेको उनको भनाइ छ। मुलुकी अपराध संहिता, २०७४ को दफा १७४ अनुसार विवाहमा लेनदेन गर्नु कानुनविपरीत मानिन्छ। 

पंकज र महोत्तरी औरही–१ की नेहा चौधरीबीच प्रेम सम्बन्धपछि परम्पराअनुसार नौ महिनाअघि विवाह भएको थियो। त्यतिबेला पंकज ग्रान्डी अस्पतालमा काम गर्थे। उक्त विवाहमा २० तोला सुन, फर्निचर लगायत सामान गरी १ करोड २५ लाख खर्च भएको नेहाको दाबी छ। विवाहको केही दिनपछि पंकजले काठमाडौंमा घर किनिदिन दबाब दिएको नेहाले दिएको जाहेरीमा उल्लेख छ।

विवाह भएको केही समयपछि नै पति, सासू र नन्दहरूले गालीगलौज गर्ने र अभद्र व्यवहार गर्ने गरेको भन्दै नेहाले आफ्नो पीडा सामाजिक सञ्जालमा पोखेकी थिइन्। 

घरेलु हिंसा भएपछि उनले महोत्तरी प्रहरीमा जाहेरी दिएकी थिइन्। त्यतिबेला पनि पंकजलाई पक्राउ गरी केही दिन हिरासतमा राखिएको थियो। पछि उनी छुटेका थिए। 

प्रकाशित मिति: १५:१६ बजे, बुधबार, मंसिर २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्