Kathmandu Press

ठेगाना नै बताउँदैनन् सडकबाट उद्धार गरिएका व्यक्ति

काठमाडौं, पुस ९ : सडकबाट उद्धार गरिएकालाई परिवार र आफन्तको जिम्मा लगाउन समस्या भएको छ। उनीहरुले आफ्नो परिवारबारे सत्यतथ्य जानकारी नदिँदा समस्या भएको ह....

ठेगाना नै बताउँदैनन् सडकबाट उद्धार गरिएका व्यक्ति

काठमाडौं, पुस ९ : सडकबाट उद्धार गरिएकालाई परिवार र आफन्तको जिम्मा लगाउन समस्या भएको छ। उनीहरुले आफ्नो परिवारबारे सत्यतथ्य जानकारी नदिँदा समस्या भएको हो।

सडकबाट उद्धार गरिएकामध्ये अशक्त र अनाथको सङ्ख्या कम रहेको मानव सेवा आश्रमले जनाएको छ। परिवार भएका र सक्रिय जीवन जिउन सक्नेहरुलाई पनि घर फर्काइदिने पिरले आफ्नो ठेगाना भन्ने गरेका छैनन्।

‘परिवारबारे जानकारी लिनका लागि उनीहरुलाई केही दिनको परामर्श नै आवश्यक छ, अन्यथा कठीन छ,’ मानव सेवा आश्रमका अध्यक्ष राम्जी अधिकारीले भने।
पछिल्लो समय काठमाडौँ महानगरपालिका सडकमा आफ्नो जीवन बिताइरहेकाको संरक्षण जुटिरहँदा यस्ता किसिमका समस्या देखापरेको हो।  

काठमाडौं महानगरपालिकाले मंसिर २९ गतेदेखि शुरु गरेको यस अभियानअन्तर्गत अहिलेसम्म दुई सय ८५ जनालाई उद्धार गरिएको छ। यसरी सडकमा जीवन बिताउनेमध्ये सबैभन्दा बढी कालीमाटी, ढल्खु, नयाँबजार, इन्द्रचोक, बौद्ध, पशुपति, चाबहिलचोकगायत स्थानमा रहेका छन्।

सडकमा बस्नेहरु ४० भन्दा बढी जिल्लाका रहेका छन्। तिमध्ये धेरैजसो सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, गोरखा, चितवन जिल्लाको बढी रहेको आश्रमले जनाएको छ।

राति ८ बजेदेखि ११ बजेसम्म उद्धारको काम गर्नका लागि महानगर, प्रहरी, मानव सेवा आश्रमका प्रतिनिधिसहित ५० जनाको टोली खटिने गरेको छ। सडकको भरमा कोही पनि बस्नु नपरोस् भन्दै बिरामीलाई उपचार गर्ने, परिवार भएकालाई जिम्मा लगाइदिने र बेसहारालाई महानगरले नै सहयोग गरी संरक्षण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

आगामी तीन महिनामा महानगरको ३२ वटै वडामा बेसहारा भएका व्यक्तिको उद्धार गर्ने लक्ष्य राखिएको छ। पहिलो चरणमा चार रातमा सडक किनारामै सुत्ने दुई सय १५ व्यक्तिलाई उद्धार गरिएको थियो।

अभियान शुरु भएको पहिलो दिन ४२ जनाको उद्धार भएको थियो भने दोस्रो दिन ५७ लाई उद्धार गरिएको थियो। यही पुस १ गते ४९ र पुस २ गते ६७ लाई रातको समयमा काठमाडौँका विभिन्न सडक किनाराबाट उद्धार गरिएको थियो।

उद्धार गरिएका मध्ये एक सय २९ पुरुष, १४ महिला, एक बालक र एक बालिकालाई मनोसामाजिक परामर्शपछि घर पठाइएको जनाएको छ। उद्धार गरिएकामध्ये पहिचान गरिएका १५ लाई मानव सेवा आश्रममा लगिएको छ। त्यस्तै नौ जनाको अस्पतालमा राखेर उपचार भइरहेको छ। (रासस)

प्रकाशित मिति: ११:२१ बजे, बुधबार, पुस ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्