राष्ट्रियसभा निर्वाचनका लागि ११ दललाई चुनाव चिह्न
काठमाडौं, पुस ९ : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ। आगामी माघ ९ गते राष्ट्रिय ....

काठमाडौं, पुस ९ : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ। आगामी माघ ९ गते राष्ट्रिय सभाको निर्वाचन हुँदै छ।
आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सूर्य, नेपाली काँग्रेसलाई रुख, समाजवादी पार्टीलाई पाँच औँलासहितको हत्केला, राष्ट्रिय जनता पार्टी नेपाललाई ढल्केको छाता र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई चुनाव चिह्न प्रदान गरेको छ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)लाई हलो, राष्ट्रिय जनमोर्चालाई गिलास, नेपाल मजदुर किसान पार्टीलाई मादल, नेपाल सङ्घीय समाजवादी पार्टीलाई बस, नेपाली जनता दललाई गोरुगाडा चक्का (पाङ्ग्रो) र इतिहासिक प्रजातान्त्रिक जनता पार्टीलाई ट्रयाक्टर निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ।
यसैबीच आयोगले उक्त निर्वाचनको सन्दर्भमा सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृृत र दुई जना न्यायाधीशलाई जगेडा निर्वाचन अधिकृत तोकेको छ।
आयोगका अनुसार मोरङका मेदिनीप्रसाद पौडेल, धनुषाका राजकुमार खतिवडा, ललितपुरका मोहनबहादुर कार्की, कास्कीका काजीबहादुर राई, दाङका रितेन्द्र थापा, सुर्खेतका राजेन्द्रकुमार आचार्य र डोटीका विदुर काफ्ले निर्वाचन अधिकृत तोकिएका छन्।
त्यस्तै जगेडा निर्वाचन अधिकृतमा कैलाशप्रसाद सुवेदी र दिवाकर भट्टलाई राखिएको छ। न्याय परिषद्को परामर्शमा आयोगले उनीहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो।











